काठमाडौं- बाढी तथा पहिरोबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई लक्षित गरी युवा संघ नेपालले राहत सामग्री वितरण गरेको छ।
युवा संघ नेपालका संयोजक धर्म बहादुर शाहीको नेतृत्वमा परिचालित टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो।
टोलीले प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा तत्काल आवश्यक आवश्यकताबारे जानकारीसमेत लिएको जनाएको छ।
युवा संघ नेपालका कार्यालय सचिव दिपक बिकका अनुसार विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। राहत वितरणसँगै प्रभावित क्षेत्रमा आवश्यक मानवीय सहयोग तथा स्वयंसेवी कार्यलाई समेत निरन्तरता दिइने उनले बताए।
उनका अनुसार विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका क्रममा प्रभावित क्षेत्रमा सरसफाइ, भग्नावशेष व्यवस्थापन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा आवश्यक श्रमदानका लागि युवा स्वयंसेवक परिचालन गरिनेछ।
“विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। राहत वितरणपछि पनि आवश्यकताका आधारमा पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा स्वयंसेवक परिचालन गर्नेछौँ,” कार्यालय सचिव बिकले भने।
युवा संघ नेपालले विपद्को समयमा प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सम्बन्धित निकाय, सामाजिक संघसंस्था तथा स्वयंसेवकबीच समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया