१८ दिनपछि खुल्यो कृष्णभीरमा सडक, दुईतर्फी यातायात सञ्चालन

विहीबार, ०१ असोज २०८३, ०९ : ५०

चितवन– बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा आज बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा करिब १०० मिटर सडक भासिएको थियो। सडक पूर्णरूपमा क्षतिग्रस्त भएपछि पृथ्वी राजमार्गमा यातायात सेवा प्रभावित बनेको थियो।

नागढुङ्गा–मुग्लिन सडक योजना ९पश्चिम खण्ड०का इन्जिनियर धीरज ढकालका अनुसार सडक सञ्चालनका लागि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण थालिएको थियो। बुधबार साँझसम्म आवश्यक काम सम्पन्न भएपछि बिहीबार बिहानदेखि नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो।

पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरेर नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम अघि बढाएपछि छोटो समयमै यातायात सञ्चालन गर्न सम्भव भएको जनाइएको छ। दुई दिनअघिदेखि नै सडकमा रोकिएका सवारीसाधनलाई साँझको समयमा क्रमशः कटाइएको थियो।

कृष्णभीरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको सवारी आवागमनसमेत आजदेखि सञ्चालनमा ल्याइएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा यातायात सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा सडक आंशिक रूपमा रोकेर भइरहेको पहिरो रोकथामको काम स्थगित गरिएको जानकारी दिए।

कृष्णभीरमा लामो समयसम्म सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन संघीय राजधानी काठमाडौं आवतजावत गर्न सकेका थिएनन्। यसका कारण राजधानीमा खाना पकाउने एलपी ग्यासको आपूर्तिसमेत प्रभावित भई अभाव देखिएको थियो।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीको बहाव बढेको थियो। त्यसपछि भदौ १४ गते पुनः आएको बाढीले कृष्णभीरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएको थियो। अन्य स्थानमा यातायात सहज भए पनि कृष्णभीरमा सडकको ठूलो भाग नै भासिएपछि लामो समय अवरोध भएको हो।

कृष्णभीर हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

विहीबार, ०१ असोज २०८३, ०९ : ५०

प्रतिक्रिया