काठमाडौं- नेपाल इन्जिनियरिङ कलेज ९लभअ० मा शैक्षिक सत्र २०८३ का लागि भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
सोमबार कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य इ. दुर्गाप्रसाद भण्डारीले जेन–जी पुस्ताका विद्यार्थीलाई स्वागत गर्दै इन्जिनियरिङ शिक्षाका विभिन्न पक्ष, यसको सम्भावना तथा समाज र राष्ट्र निर्माणमा इन्जिनियरिङ क्षेत्रको भूमिकाबारे जानकारी गराएका छन् ।
इन्जिनियरिङ विधामा विभिन्न आयाम र सम्भावना रहेको चर्चा गर्दै प्राचार्य भण्डारीले इन्जिनियरिङ समाज तथा राष्ट्र विकासको महत्वपूर्ण आधार भएको बताए । उनले भने, “इन्जिनियरिङ एउटा मात्र विषय होइन, यसका धेरै आयाम छन् । देश र समाजको विकासमा इन्जिनियरिङले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।”
स्नातक तहको चारवर्षे अध्ययन अवधिमा विद्यार्थीले निरन्तर मेहनत र अनुशासनका साथ अध्ययन गर्नुपर्नेमा जोड दिँदै प्राचार्य भण्डारीले विद्यार्थीलाई आवश्यक ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्न कलेज सदैव प्रतिबद्ध रहेको बताए ।
नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै उनले जेन–जी पुस्ताबाट आफूहरूले पनि नयाँ सोच र प्रविधिका विषयमा धेरै कुरा सिक्न सक्ने बताए । “यो पुस्तालाई कलेजमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । तपाईंहरू जेन–जी पुस्ताबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौँ,” उनले भने । विद्यार्थीको सफलता नै कलेजको सफलता भएको उनको भनाइ थियो ।

कार्यक्रममा कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले विद्यार्थीलाई गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताए । विद्यार्थीका जिज्ञासा तथा समस्याको समाधानका लागि पूर्णकालीन फ्याकल्टीको व्यवस्था गरिएको जानकारी दिँदै उनले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिइएको बताए ।
कलेजमा आधुनिक प्रयोगशाला, पुस्तकालयलगायत अध्ययन तथा प्रयोगात्मक शिक्षणका लागि आवश्यक सुविधाहरू उपलब्ध रहेको जानकारी दिँदै सहायक प्राचार्य केसीले विद्यार्थीले आफ्नो सपना र उद्देश्य पूरा गर्न चारवर्षे अध्ययन अवधिमा निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिए ।
शैक्षिक अभिमुखीकरण कार्यक्रममा विभिन्न विभागका फ्याकल्टीहरूले सम्बन्धित विषयको पाठ्यक्रम, अध्ययन–अध्यापनको शैली, मूल्याङ्कन प्रणाली, विद्यार्थीले पालना गर्नुपर्ने नियम तथा कलेजका शैक्षिक गतिविधिबारे जानकारी गराएका थिए ।
कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराका अनुसार अभिमुखीकरण कार्यक्रममा नवप्रवेशी विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, विभागीय संरचना, प्रयोगात्मक शिक्षण तथा विद्यार्थीले अपनाउनुपर्ने शैक्षिक अनुशासनबारे समेत जानकारी दिइएको थियो ।
यस वर्ष नेपाल इन्जिनियरिङ कलेजका अधिकांश सिट भरिइसकेको कलेजले जनाएको छ । कलेजका अनुसार आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फरमेशन एण्ड कम्युनिकेशन तथा सिभिल एण्ड रुरल इन्जिनियरिङ लगायतका कार्यक्रमहरूमा अधिकांश सिट भरिएका छन् ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेजले हरेक वर्ष करिब रु। १५ करोड बराबरका विभिन्न छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ । छात्रवृत्तिको अवसर, गुणस्तरीय शिक्षा तथा तुलनात्मक रूपमा पहुँचयोग्य शुल्कका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको कलेजको भनाइ छ ।
त्यसैगरी, शहरी कोलाहल र भिडभाडबाट टाढा शान्त, स्वच्छ तथा हरियाली वातावरणमा कलेज अवस्थित रहेकाले पनि विद्यार्थीको रोजाइमा नेपाल इन्जिनियरिङ कलेज पर्ने गरेको कलेजले जनाएको छ ।
प्रतिक्रिया