काठमाडौं- नगरपालिका बनेको झन्डै साढे नौ वर्षसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन हुँदै आएको आठविसकोट नगरपालिकाले पहिलोपटक प्रमुख प्रशासकीय अधिकृत पाएको छ।
संघीय सरकारका उपसचिव नरेश कटवाल प्रमुख प्रशासकीय अधिकृतका रूपमा आठविसकोटमा हाजिर भएपछि कर्मचारीहरूले टीका, माला र खादा लगाएर स्वागत गरेका छन्।
लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतमार्फत प्रशासनिक कामकाज सञ्चालन हुँदै आएको नगरपालिकामा उपसचिव कटवालको आगमनसँगै नियमित प्रशासनिक नेतृत्व स्थापित भएको हो।
नगरपालिका बनेयता दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारी संघीय सरकारले पटक–पटक खटाए पनि कार्यालयमा हाजिर हुन भने कोही पनि नआएको कार्यवाहक नगर प्रमुख धनकुमारी शाहीले बताइन्।
उनका अनुसार संघीय सरकारले कर्मचारी खटाउने तर उनीहरू कार्यालयमा हाजिर नहुने अवस्थाका कारण आठविसकोट नगरपालिका लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन हुँदै आएको थियो।
नगरपालिका गठन भएको झन्डै साढे नौ वर्षसम्म पनि प्रशासनिक नेतृत्व स्थायी रूपमा नपाउनुमा संघीय सरकारकै कमजोरी रहेको शाहीको भनाइ छ। पछिल्लो समय उपसचिव नरेश कटवाल प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएपछि भने नगरपालिकाको प्रशासनिक कामकाज थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया