जलवायु विपद् न्यूनीकरणका लागि प्रभावकारी पूर्वसूचना प्रणाली आवश्यक: परराष्ट्रमन्त्री खनाल

विहीबार, २६ कार्तिक २०८३, ११ : १९

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ को अवसरमा आयोजित ‘सबैका लागि प्रारम्भिक चेतावनी स् सबैलाई सुरक्षित गर्ने हाम्रो वाचा पूरा गर्ने’ विषयक उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री खनालले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका समुदायको जीवन रक्षाका लागि पूर्वसूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेको बताए । विपद्का सुरुवाती चरणमा नेपालले प्रारम्भिक चेतावनी प्रणालीमार्फत लाखौँ एसएमएस पठाउनुका साथै तल्लो तटीय क्षेत्रका समुदायलाई स्थानीयस्तरमै सूचना उपलब्ध गराएको भए पनि विद्यमान व्यवस्था पर्याप्त नभएको उनको भनाइ थियो ।

प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न उच्च हिमाली क्षेत्रमा रहेको अवलोकन तथा तथ्याङ्क सङ्कलनको अन्तर कम गर्नुपर्नेमा उनले जोड दिए । यसका लागि वास्तविक समयको तथ्याङ्क सङ्कलन, उपग्रहमा आधारित दूरसंवेदन प्रविधि तथा हिममण्डलको अनुगमन प्रणाली विस्तार गर्न आवश्यक रहेको उनले बताए ।

त्यस्तै, स्थानीय भाषा र समुदायले सहजै बुझ्ने माध्यमबाट चेतावनी जारी गर्ने, पूर्वानुमानमा आधारित कार्यलाई प्राथमिकता दिने र जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्‍याउने व्यवस्था गर्नुपर्ने उनको धारणा थियो ।

खनालले सगरमाथादेखि समुद्रसम्मको समग्र दृष्टिकोण अपनाउँदै सीमापार तथ्याङ्क आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

जलवायु जोखिम न्यूनीकरणका लागि अनुमानयोग्य, सहज पहुँचयोग्य र अनुदानमा आधारित जलवायु वित्तको व्यवस्था हुनुपर्नेमा जोड दिँदै उनले जलवायुजन्य विपद्का बढ्दो प्रभावसँग जुध्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

विहीबार, २६ कार्तिक २०८३, ११ : १९

प्रतिक्रिया