काठमाडौं- अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २ गतेका लागि १० औँ वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीले आफ्नो चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नका लागि साधारणसभा बोलाएको हो ।
सभा काठमाडौंको चप्पल कारखाना चोकस्थित कुण्डलिनी दरबार बैंक्वेटमा बिहान ९ः३० बजे सुरु हुनेछ ।
सभामा कम्पनीको चुक्ता पूँजीको एक कित्ता सेयर बराबर अर्को एक कित्ता सेयर अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुनेछ । त्यस्तै हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकम कसरी उपयोग गर्ने भन्ने विषयमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै फेरबदल वा थपघट गर्न सुझाव तथा निर्देशन आएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
कम्पनीले मंसिर १६ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने हुनाले मंसिर १५ गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन पाउनेछन् ।
प्रतिक्रिया