अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँगको शान्ति सम्झौताबाट पछि हट्ने घोषणा गरेका छन् ।
ट्रम्पले एक पछि अर्को ट्विट गर्दै क्याम्प डेभिडमा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँगको एक गोप्य बैठकमा भाग लिने कार्यक्रम समेत रद्द गरेको जानकारी दिएका छन् ।
उनले काबुलमा भएको बम विस्फोटमा अमेरिकी सेनासहित १२ जनाको मृत्यु भएपछि यो कदम चालेको बताएका छन् । तालिबानले सो हमलाको जिम्मेवारी लिएका थिए ।
अफगानिस्तानका लागि विशेष अमेरिकी प्रतिनिधि जाल्मे खलिलजादले गत सोमबार तालिबानसँग सैद्धान्तिक रुपमा एक शान्ति सम्झौता हुने घोषणा गरेका थिए ।
प्रस्तावित शान्ति सम्झौताअनुसार अमेरिकाले आगामी २० साताभित्र अफगानिस्तानमा रहेका आफ्ना ५ हजार ४ सय सैनिक फिर्ता लाने तयारी गरेको थियो ।
यद्यपि खलिलजादले सम्झौतामा अन्तिम स्वीकृति राष्ट्रपतिले दिने बताएका थिए । बिहीबार काबुलमा भएको बम विस्फोटपछि तालिबानसँग शान्ति सम्झौताका बाबजुद हिंसा अन्त्य नहुने चिन्ता व्यक्त गरिएको थियो ।
सन् २००१ मा अमेरिकी सैनिकले अफगानिस्तानमा हमला गरेर तालिबान सत्ता तहसनहस पारेपछि पहिलो पटक यतिबेला अफगानिस्तानको ठूलो भागमा तालिबानको नियन्त्रण कायम छ ।
तालिबानले अफगान सरकार अमेरिकाको कठपुतली भएको भन्दै वार्ता अस्वीकार गर्दै आएको छ । अमेरिका र तालिबानबीच कतारमा अहिलेसम्म नवौं चरणको शान्ति वार्ता भइसकेको छ ।
तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो । अफगानिस्तानमा २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण भएपछि अन्तर्राष्ट्रिय गठबन्धनका ३ हजार ५ सय सैनिक मारिएका छन् । जसमा २ हजार ३ सय अमेरिकी सैनिक छन् ।
अफगानिस्तानका आम जनता, चरमपन्थी र सुरक्षाफौजको मृत्युको एकीन संख्या उल्लेख गर्न कठिन छ ।
प्रतिक्रिया