ट्रम्पको अभिव्यक्तिले तालिबान रुष्ट

सोमबार, २३ भदौ २०७६, १२ : १८

अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले शान्ति सम्झौता रद्द गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।

तालिबान समूहले विज्ञप्ति जारी गर्दै शान्ति वार्ता रद्द गर्ने निर्णयका कारण सबैभन्दा बढी अमेरिकीहरूले गुमाउने प्रतिक्रिया दिएको छ ।


अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप दुई पक्षबीच वार्ता जारी थियो । तालिबानले जारी गरेको वक्तव्यमा वार्ताको अन्तिम समयसम्म राम्रो भइरहेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबारराति एकाएक आइतवारका लागि क्याम्प डेविडमा तालिबान नेताहरूसँग बोलाइएको बैठक रद्द गरिएको ट्विटरमार्फत सार्वजनिक गरेका थिए ।


गत बिहीबार अफगानिस्तानमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु हुनेगरी भएको विस्फोटलाई कारण देखाउँदै ट्रम्पले वार्ता रद्द गरेको उल्लेख गरेका थिए ।

तालिबानले अफगान सरकारलाई अमेरिकी कठपुतली भन्दै वार्ता गर्न अस्वीकार गर्दै आएको थियो । कतारको राजधानी दोहामा अमेरिका र तालिबानबीच ९ चरणको वार्तापछि शान्ति सम्झौताको सैद्धान्तिक सहमति भएको थियो ।

सो सहमतिअनुसार २० हप्ताभित्र ५ हजार ४ सय अमेरिकी सेना फिर्ता लग्ने र तालिबानले अफगानिस्तानलाई फेरि आतंकवादका लागि प्रयोग हुन नदिने कुराको सुनिश्चितता गर्नुपर्ने सहमति भएको थियो ।

सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी तालिबान सरकारलाई सत्ताबाट च्युत गरेको थियो ।
 

सोमबार, २३ भदौ २०७६, १२ : १८

प्रतिक्रिया