नेकपाको सचिवालय बैठक अनिश्चित

शुक्रबार, २९ कार्तिक २०७६, १० : ४२

मन्त्रिहरुको हेरफेरबारे निर्णय गर्न बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ । यसअघि बैठक शुक्रबार बिहान बस्ने भनिएको थियो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालका अनुसार शुक्रबार सचिवालय बैठक बस्ने भनिएपनि अहिलेसम्म समय तोकिएको छैन ।

‘बैठक सरेको सर्यै छ । आज पनि कतिवेला बस्ने हो निश्चित छैन । हिजो पनि बस्ने भनिएको थियो, फेरि आज बिहान बस्न सक्छ भनियो तर बस्न सकेन, के कारणले हो थाहा भएन’ । 
यसैबीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेलबीच अहिले बालुवाटारमा सचिवालय बैठकको समय तय गर्न छलफल भइरहेको बुझिएको छ ।

मन्त्रिमण्डल हेरफेर गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी ओलीले बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँग छलफल गरेका थिए । दाहाल र नेपालसँगको छलफलपछि ओलीले शुक्रबार हेरफेरमा पर्ने मन्त्रीहरुका बारेमा अन्तिम निर्णय गर्ने बताएका थिए । त्यस्तै नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी समेत प्रचण्डलाई दिन नेताहरुबीच छलफल भएको थियो । बिहीबार ओली र प्रचण्डबीच भएको छलफलअनुसार शुक्रबारकै सचिवालय बैठकबाट निर्णय गरेर प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी हस्तानतरण गर्ने सहमति बनेको थियो । दुई नेताबीच एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने यसअघि नै सहमति भएको थियो ।

शुक्रबार, २९ कार्तिक २०७६, १० : ४२

प्रतिक्रिया