आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सप्तरीमा मनोनयन दर्ता भएपछि निर्वाचनको गतिविधिसमेत तीव्र बनेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उक्त पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नौ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । राजनीतिक दलबाट छ र स्वतन्त्रबाट तीनजना गरी नौ जनाले मनोनयन दर्ता गराएका हुन् ।
उम्मदेवारी दर्ता गर्नेमा नेकपाका तर्फबाट अच्छेलाल यादव, नेपाली काङ्ग्रेसका तर्फबाट शिवनारायण मण्डल तथा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार प्रमिलादेवी यादव हुनुहुन्छ ।
राजपाका जिल्ला संयोजक हरेराम यादव र समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावमा सहकार्य गर्ने उद्देश्यले दुवै पार्टीको संयुक्त उम्मेदवार उठाउने सहमति भएको बताउनुभएको छ ।
यस्तै राप्रपाबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेशकुमार यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै स्वतन्त्ररूपमा उम्मेदवारी मनोनयन दर्ता गर्नेमा धीरेन्द्रकुमार यादव, नुरहुसेन मन्सुरी र रञ्जीतकुमार यादव रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । सो वडामा ६४६ महिला तथा ७५७ पुरुष गरी कूल एक हजार ४०३ मतदाता छन् ।
उपनिर्वाचनका लागि छिन्नमस्ता–७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा(क) र (ख) गरी दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैबीच स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता भएसँगै सप्तरीमा पनि चुनावी वातावरण तातिएको छ । अहिले विभिन्न राजनीतिक दलका कार्यकर्ता मत माग्न घरदैलो अभियानमा जुटेका छन् । उनीहरुले आफ्नो उम्मेदवारलाई विजयी बनाउन र जिताउन चुनावी अभियानलाई निरन्तरता दिएका हुन् ।
यसैबीच वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका एक जनाको उम्मेदवारी रद्द भएको छ । उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये स्वतन्त्र उम्मेदवार रञ्जीतकुमार यादवको मनोनयन रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यादवको उमेर १९ वर्ष मात्र पुगेकाले मनोनयन रद्द गरिएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए ।
स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०७६ अनुसार स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख वा वडाध्यक्ष पदका लागि उम्मेदवार हुन चाहने व्यक्ति नेपाली नागरिक भएको र २१ वर्ष उमेर पुगेको हुनुपर्नेछ । यादवको मनोनयन रद्द भएपछि वडाध्यक्ष पदमा आठजनाको उम्मेदवारी कायम भएको छ ।
प्रतिक्रिया