जनताले वैकल्पिक शक्ति खोजेका छन् : साझा उम्मेदवार केसी

आइतबार, ०१ मंसिर २०७६, ०७ : ०७

मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि हुन गइरहेको उपनिर्वाचनमा प्रमुख दलसँगै साना दलहरुको चुनावी अभियान निकै सक्रिय बनिरहेका छन् । 

पछिल्लो समय राजनीतिमा सक्रियता देखाउँदै आएको साझा पार्टीले पनि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो गरेर भोट मागिरहेको छ । साझाले शनिबार पोखरा महानगरपालिका वडा नं २० भलाममा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 

घरदैलोमा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको उम्मेदवार रजनी केसीले बताउनुभयो । तराजु चुनाव चिन्ह लिएर मतदाता माझ पुग्नु भएकी उम्मेदवार केसीले परम्परागत दलबाट परिवर्तन सम्भव नभएको भन्दै वैकल्पिक शक्तिको रुपमा उदाएको साझालाई  जनताले मन पराएको दाबी गरे । 

सबैभन्दा पहिला उम्मेदवारको टुंगो लगाएको साझा पार्टीले आफ्नो निर्वाचन क्षेत्रको धेरै स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ । 

स्थानीयका समस्यालाई नजिकबाट बुझेर सामाजिक रुपान्तरणमा पहल गर्ने साझा पार्टीले आफ्नो अभियानलाई तीव्रता दिएको संयोजक अर्जुनप्रसाद खनालले बताए।        

यसैबीच साझाले शनिबार नै भलाममा चुनावी सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । 
 

आइतबार, ०१ मंसिर २०७६, ०७ : ०७

प्रतिक्रिया