ललितपुर बलात्कार प्रकरण: प्रहरीले एक सातापछि  थाहा पायो यस्तो

६ बर्ष अगाडि

काठमाडौँ- ललितपुरको गोदामचौरमा तीन महिनाअघि भएको बलात्कार तथा ज्यान मार्ने उद्योगका मुख्य तीन अभियुक्तलाई तत्काल पुर्पक्ष थुनामा राख्ने अदालती आदेशको एक सातापछि मात्रै प्रहरीले उनीहरू ‘फरार’ रहेको थाहा पाएको छ ।  कान्तिपुरमा खबर छ

गत बिहीबार पाटन उच्च अदालतले दिएको आदेशको औपचारिक पत्र जिल्ला प्रहरी कार्यालयले सोमबार मात्रै पाएको र तत्काल अभियुक्तको ‘लोकेसन’ मा खोजी गर्दा उनीहरू फरार भइसकेको प्रहरीले जनाएको छ । ‘यो स्थितिबारे महानगरीय प्रहरी परिसर, ललितपुर र अपराध महाशाखालाई पनि अवगत गराएका छौं,’ महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी विनोद सिलवालले भने, ‘फरार अभियुक्तको ‘लोकेसन ट्रेस’ गर्ने काम थालिएको छ ।’ अदालती आदेशलगत्तै आफूले मौखिक रूपमा बाँडेगाउँस्थित प्रहरी प्रभागमा अभियुक्तको थातथलो निगरानी गर्न निर्देशन दिएको जनाउँदै सिलवालले खोजबिनमा तदारुकता अपनाइने बताए । जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीमा परेका तीन अभियुक्तलाई साधारण तारिखमा छाड्ने जिल्ला अदालतको फैसला बदर गर्दै गत बिहीबार उच्च अदालत पाटनले ‘प्राप्त प्रारम्भिक प्रमाणका आधारमा आरोपीलाई पुर्पक्षका लागि तत्काल थुनामा राख्ने’ फैसला गरेको थियो ।
पुनरावेदनमा जानुअघि ललितपुर भित्री बस्तीकी २१ वर्षीया युवतीमाथि जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीका आधारमा ललितपुर गोदामचौरका रघु सिलवाल (३२), विशालध्वज कार्की (२०) र पवन कुँवर (२०) लाई थुनामा राखिए पनि जिल्ला अदालतले ‘किटानीमा दह्रो प्रमाण नभएको’ भन्दै थुनामुक्त गरिदिएको थियो । हातखुट्टा भाँचिएको र टाउको समेत फुटेको अवस्थामा गत मंसिर ३ गते बिहान खेतबारीमा भेटिएकी युवतीको ७ दिनपछि मात्रै अस्पतालमा होस आएको थियो । होस फिरेपछि लिइएको बयान र किटानी जाहेरी आधारमा आरोपी पक्राउ गरिएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया