अमेरिकासँग वार्ता गर्न इरान तयार

बुधबार, १८ मंसिर २०७६, १४ : ४०

इरानी राष्ट्रपति हस्सन रौहानीले संयुक्तराज्य अमेरिकाले आफूहरु विरुद्ध लगाएको “अवैधानिक” आर्थिक प्रतिबन्धहरु फुकुवा गरेमा आणविक वार्ता गर्न तयार रहेको बताएका छन ।

राज्यद्वारा सञ्चालित टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिँदै राष्ट्रपति रौहानीले इरान सम्बन्धी अमेरिकी नीतिहरुमा फेरबदल आवश्यक रहेको बताए ।

राष्ट्रपति रौहानीले इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउन संयुक्तराज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने पटक पटक आग्रह गरिरहेका छन । 

“पहिलो कदम भनेकै प्रतिबन्धहरु हटाउनु नै हो । इरानमाथि लगाइएका सबै गैरकानुनी, अन्यायपूर्ण र गलत प्रतिबन्धहरु फिर्ता हुनु पर्दछ ।” राष्ट्रपति रौहानीले भने

, “सकारात्मक परिवर्तनको साँचो वासिङ्टनको हातमा छ ।” उनले संयुक्तराज्य अमेरिकालाई सबैभन्दा ठूलो चिन्ताको विषयका रुपमा रहेको आणविक बम बनाउने कुरा इरानले पहिल्यै त्यागिसकेको पनि बताए । 

“यदि अमेरिकी सरोकार सही हो भने यसलाई हामीले पहिल्यै सम्बोधन गरिसकेका छौं । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले जारी गरेको एउटा आदेशबाट यो कार्यान्वयनमा आइसकेको छ ।” खामेनीले सन् २००३ मै आणविक हतियार नबनाउने बारेमा विशेष आदेश (फत्वा) जारी गरिसकेको इरानी दाबी छ । 

“त्यसर्थ पहिलो कदम अमेरिकाले नै लिनु पर्दछ । यो कदम बेगर यो गाँठो खुल्दैन,” राष्ट्रपति रौहानीले भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रुपमा अलग हुँदै इरान विरुद्ध कडा प्रतिबन्धहरु घोषणा गरेका थिए । 

बुधबार, १८ मंसिर २०७६, १४ : ४०

प्रतिक्रिया