नेपाली सेनाले महोत्तरीको सोन्मा गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविर हालसम्मकै वृहद् र सफल शिविरका रूपमा स्थापित भएको जिकिर गरेको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँचकै समस्या देखिएको उक्त क्षेत्रमा सेनाले सञ्चालन गरेको साताव्यापी निःशुल्क शल्यक्रिया शिविरबाट २१ हजारभन्दा बढी नागरिक लाभान्वित भएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरूपमा सञ्चालित उक्त शिविरमार्फत जुकाको औषधि वितरणदेखि पाँच किलोसम्मको ट्युमर शल्यक्रिया गरी निकालिएको थियो । एक सय ८० जनाको विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले उक्त शिविरमा साना ठूला गरी ३२९ वटा सफलतापूर्वक शल्यक्रिया गरेको थियो ।
गत मङ्सिर २७ देखि पुस ५ गतेसम्म सञ्चालित उक्त शिविरबाट लामो समयदेखि आन्द्रामा प्वाल परेका, जटिल गर्भावस्थामा रहेका, हर्निया भएका र ट्युुमरका बिरामीले लाभ लिएको शिविर संयोजक सहायकरथी डा देवेन्द्रबहादुर खत्रीले जानकारी दिए । सेनाले त्यस क्षेत्रका डोम र मुसहर समुदायमा जुुकाको औषधि वितरण गर्नुुका साथै वस्तीमा लामखुट्टे निरोधक औषधि छिटेको थियो ।
उक्त शिविरमा उपचार गर्न आउने कतिपय बालक बिरामीमा जन्मजात मुटुमा प्वाल परेको तथा कुपोषणको समस्या भेटिएको थियो । उक्त क्षेत्रका बिरामीमा महिलामा पाठेघर खस्ने समस्या देखिएको थियो भने पुरुष धेरैमा दम, पित्तथैलीको पत्थरी र हर्निया भेटिएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयका सहसचिव डा विकास देवकोटाले भौगोलिक हिसाबले सुुगम देखिए पनि शिक्षा र स्वास्थ्यलगायतका कारणले पछि रहेको प्रदेश नं २ का जिल्लामा स्वास्थ्यमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए ।
उक्त शिविरमा सिन्धुली, धनुषा, महोत्तरी र सर्लाहीका जनता ठूलो सङ्ख्यामा उपचारका लागि पुगेका थिए । पुरुषको तुलनामा उपचार गर्न आउने महिलाको सङ्ख्या बढी रहेको थियो ।
प्रतिक्रिया