ढोकाबाटै राउण्ड लिन्छन् चिकित्सक

विहीबार, २४ पुस २०७६, १३ : ४४

भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट देखिएका छैनन् ।  

लुम्बिनी प्रदेशको एकमात्र सङ्घीय  अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएकोछ ।
     दैनिक एक हजारको हाराहारीमा बिरामी सेवा लिन अस्पताल  आउने गरेको अस्पतालले जनाएको छ ।  

सेवा लिन भेटिएका अधिकांश बिरामी र उहाँका आफन्तले अस्पतालको उपचार सेवा, चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गरेका छन् ।  

बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सले उत्तर दिन झर्को मान्ने गुनासो अस्पतालमा सुनिदै आइएको छ । 
    अस्पतालद्वारा सञ्चालित औषधि पसलमा बिरामीले चोहेका औषधि पाईदैन । 

यसैगरी प्रयोगशाला परीक्षण गर्न  निजी प्रयोगशाला जानुपर्ने बाध्यता बिरामीमा रहेको छ ।    
    शौचालयको दुर्गन्धले  अस्पतालमा बसिसक्नु छैन ।  

अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले भन्नुभयो, “अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाइ र व्यवहारमा विशेष ध्यान दिइएको  छ ।” अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । 

चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिँदै आएका छन् । 

अस्पतालमा कार्यरत चिकित्सकले बिरामी भएको श्ययामा नपुगेरै ढोका बाहिरैबाट अवलोकन राउण्ड गर्ने गरेको बिरामीको गुनासो छ ।

 उपकरण प्रयोगमा नआउँदै थन्कियो ः बिरामी समस्यामा
    अस्पतालमा रहेको सिकलसेल एनिमिया जाँच गराउने इलेक्ट्रोफोरसिस नामक उपकरण बिग्रिएपछि यसका बिरामीले १० महिनादेखि जाँच गराउन पाएका छैनन् ।

 बिरामी अहिले निजी क्लिनकमा जाँच गराउन बाध्य रहेका छन् । 
     अस्पताल प्रशासनले बिग्रिएको उपकरण मरमतमा ध्यान दिएको छैन ।  
मेसु डा अधिकारी र सम्बन्धित रोगका विशेषज्ञ डा राजन पाण्डेले अहिलेसम्म उपकरण मर्मत गर्नेतर्फ चासो नदेखाएका बिरामीको गुनासो छ ।

    निजी स्वास्थ्य सस्थामा रु एक हजार ५०० देखि रु दुई हजारसम्म शुल्क तिरेर जाँच गराउन बाध्य भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुले बताए । 

उपकरण बिग्रिएकाले सो रोग परीक्षण गराउन निःशुल्क सेवाबाट बिरामी वञ्चित भएका छन् । 

अस्पतालमा हप्तामा ६०–७० जना सिकलसेल जाँचका लागि आउने जनाइएको छ । 

 जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अस्पताललाई  प्रदान गरेको सो नामको दुईवटा उपकरण प्रयोगमा नआउँदै थन्किएको छ
 

विहीबार, २४ पुस २०७६, १३ : ४४

प्रतिक्रिया