बहिर्गमित जनमुक्ति सेना नेपाल, केन्द्रीय संघर्ष समितिले स्वेच्छिक अवसकासमा निस्केका पूर्व जनमुक्ति सेनाले सरह आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापनको माग गरेको छ ।
संघर्ष समितिको शुक्रबार काठमाडौंमा सम्पन्न भएको चौंथो राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्दै समितिले यस्तो माग गरेको हो ।
‘स्वेच्छिक अवकाश लिएको जनमुक्ति सेना सरह समय सापेक्षित एकमुष्ट आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापन हुने गरी उचित क्षेत्रमा लगानी गरिनुपर्ने हाम्रो माग छ’, समितिका नवनिर्वाचित अध्यक्ष रमेश बसेलले भने, ‘यी लगायतका सातवटा माग समयमै माग पूरा नगरेमा हामी कानूनी उपचारमा लाग्ने निर्णय गरेका छौँ ।’
उनीहरुले अयोग्य बिल्ला खारेज गरि औपचारिक कार्यक्रम गरी सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचयपत्र वितरण, शन्ति सम्झौतामा उल्लेख भएअनुसार बालसैन्यको पुनर्स्थापना, ऐनमा बहिर्गमित लडाकुले प्राप्त गर्नुपर्ने परिपूर्ण तथा संरक्षणको लागि सिफारिस गर्ने व्यवस्था गरि कार्यान्वयन, स्वेच्छिक अवकाश लिएको जनमुक्ति सेना सरह समय सापेक्षित एकमुष्ट आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापन हुने गरी उचित क्षेत्रमा लगानी गरिनुपर्ने माग राख्ने पनि निर्णय गरेको छ ।
त्यस्तै सरकारसँग विगतमा भएका सहमतीहरु तत्काल कार्यान्वयन र जनयुद्ध, जन–आन्दोलन, बहिर्गमित जनमुक्ति सेना नेपालको आन्दोलन, मधेश आन्दोलन तथा अन्य प्रगतीशिल आन्दोलनका सम्पूर्ण घाईते तथा अपाङ्गहरुको औषधि उपचार सहित दीर्घकालीन व्यवस्था र आन्दोलनको क्रममा पक्राउ परेका हरुको बिनाशर्त रिहाई गरिनुपर्ने पनि समितिको माग छ ।
आफ्ना विगतका मागहरु पूरा हुन नदिन उर्जामन्त्री वर्षमान पुनले मुख्य भूमिका खेलेको उनीहरुको आरोप छ ।
उर्जामन्त्रीले आफूहरुसँग जोडिएको एक जना व्यक्तिलाई मन्त्रालयमा जागिर खुवाएर चार हजार ९ जना बर्हिगमित जनमुक्ति सेनाको अपमान गरेको बरिष्ठ उपाध्यक्ष योग्य बहादुर कार्की ‘प्रदीप’ ले बताए ।
‘पूर्व जनमुक्ति सेनाका डेपुटी कमाण्डर वर्तमान उर्जामन्त्री वर्षमान पुन त हाम्रो विषयमा त्यतिवेला सम्झौता गर्ने व्यक्ति हुनुहुन्थ्यो तर अहिले सम्झौता कार्यान्वयन नगर्नेबारे पनि भूमिका खेल्नुभएको छ ’, उनले भने ‘हाम्रा माग पूरा नगरे हामी कानूनी उपचार गर्न खोज्न अन्तर्राष्ट्रिय स्तरमा पनि पुग्ने जानकारी गराउँछौं ।’
चौथो राष्ट्रिय सम्मेलनले बसेलको अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ ।
प्रतिक्रिया