कृषि पर्यटनमा फड्काे मार्दै पाल्पाको रामपुर

सोमबार, २० माघ २०७६, १४ : ५६

पाल्पाकाे रामपुर नगरपालिकाकाले कृषि पर्यटनमा अगाडि बढेकाे छ । 

नगरपालिकाले  १० वटै वडामा कृषि क्षेत्रमा लगानी बढाएका कारण कृषि पर्यटकीय केन्द्रका रुपमा अगाडी देखिएको हाे । 

वडा क्षेत्रको माटोको अवस्था हेरेर कृषिको विकास बिना समृद्धि असम्भव भएको भन्दै कृषिलाई तह छुट्याएर महिलालाई उत्साहित गर्दै आलु खेतीमा यस वर्ष बढी जोड दिइएको वडा नं ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

केराखेती, मौरीपालन, बाख्रापालनलगायत कृषिअनुदानमा सहयोग गर्दै आएको वडाले एक घर एक धारा अभियानका लागि ५० प्रतिशत अनुदान सहयोग र खरको छानारहित वडा घोषणा गर्ने लक्ष्य लिएको छ ।

वडामा १७ कृषकले झण्डै ४० रोपनीमा केराखेती, ६८ कृषक तथा १० समूहले सामूहिक आलु खेती, २७ कृषकले मौरीपालन र एक सय केजी मासु उत्पादन गर्ने कृषकलाई अनुदान दिने गरी बाख्रापालनमा कृषकलाई प्रोत्साहित गरिएको छ । रामपुर क्षेत्र आलु खेतीका लागि उर्वर भूमि मानिन्छ । नगरपालिकाले यस क्षेत्रलाई आलुको पकेट क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

नगरपालिका–६ मै सरकारले १०० पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेको तालपोखरा छ । तालपोखरा क्षेत्रको विकासमा वडाले सहयोग गर्दै आए पनि अझै चाहेजस्तो बनाउन नसकिएको वडाध्यक्ष न्यौपानेको भनाइ थियो ।

प्याक्लुकमा अवस्थित ज्याग्दी सामुदायिक वनक्षेत्रलाई चिडियाखाना बनाउने लक्ष्यसाथ डिपिआर तयार पार्ने योजना भएको जानकारी दिँदै वडाध्यक्ष न्यौपानले गरिबीको रेखामुनिका बिरामीलाई सहयोग गर्ने उद्देश्यले बिरामीलाई रामपुर अस्पतालमा पुग्न लागि रु दुई हजार र रामपुरबाट अन्य क्षेत्र लैजान पाँच हजार प्रदान गरेको बताउनुभयो । मुटुरोग, क्यान्सर, मिर्गौलालगायत जटिल रोेगका बिरामीलाई यसबाट सेवा पुग्नेछ । टिनको छाना लगाउने मजदूरलाई पाँच हजार ज्याला वडाले व्यवस्था गरेको छ । वडामा १४ घरमा भएका खरको छानो हटाएर टिन लगाइएको छ । 

रामपुरमा रहेका गाईको व्यवस्थापनमा वडाले चासो देखाएको छ । रामपुरमा छाडा गाईले खेती  खाइदिएर हैरान परेका कृषकको समस्यालाई ध्यान दिँदै  तातोपानी घाटमा गौशाला निर्माणका लागि महायज्ञ सञ्चालन गर्ने र धार्मिक पर्यटन विकास गर्ने हँदा खुशी लागेको कृषक हुमा देवकोटाले बताए। वडाले कृषि क्षेत्रमा देखाएको चासोले वडामा व्यावसायिक कृषक बढिरहेकाले खुशी व्यक्त गर्दै नदी किनार महिला आयआर्जन कृषक समूहका अध्यक्ष भगवती देवकोटाले आलु जस्तै अन्य तरकारी खेतीमा सहयोगको आशा गरे । 

बालबालिकाको स्वास्थ्य तथा विद्यालयमा बालबाललिकालाई शैक्षिक तथा खेल सामग्री वितरण गर्दै आएको वडाले विद्यालयमा बालबालिकालाई भर्ना गरेर खाली चौरमा घाम तापेर समय बिताउने अभिभावकलाई स्वरोजगार बनाउन स्वेटर बुन्ने तालीम दिएको छ । यसका लागि रु ५० हजार छुट्याएको छ ।

वडाले वडाका विद्यालयमा विद्यार्थीलाई सरसफाइको सीप सिकाउँदै मन्जन ब्रस तथा साबुन वितरण गर्दै सफा रहने बानी सिकाउँछ । विद्यालयमा सचेतनामूलक प्रश्नोत्तर राखेर विजयी विद्यार्थीलाई वर्षमा एकपटक हर्लिक्स वितरण गरेको जनाइएको छ । 

विकास निर्माणसँगै वडाले विद्यालयमा चासो दिँदै विद्यार्थीमा नयाँ ज्ञान सिकाउनु वडाको साँच्चिकै प्रशंसायोग्य काम भएको दरैठाटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाको भनाइ थियो । उनले वडाको सहयोगमा अभिभावकमा स्वेटर बुन्ने तालीम दिएपछि महिलामा स्वरोजगार बन्ने उत्साह थपिएको बताए ।  

प्रधानाध्यापक देवकोटाले वडा तथा स्थानीय सरकार विद्यालयमा पुगेर काम गरेको खासै नभेटिने गरेको बताउँदै प्रत्येक दिन विद्यालयले गर्ने काममा वडाले एक इँटा थपिदिएको जानकारी दिए । विद्यालयमा प्रत्येक दिन हाजिरीजवाफ जस्तै प्रार्थनामा नै प्रश्न सोधिने र विजयी विद्यार्थीलाई पुरस्कृत गर्ने चलन छ । 

सोमबार, २० माघ २०७६, १४ : ५६

प्रतिक्रिया