कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या

४ बर्ष अगाडि

पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी अभावले कामकाजमा समस्या परेको छ । गाउँपालिकामा प्रशासन फाँटमा अधिकृत दुई, पाँचौँ तहका सात, चौथो तहका पाँच गरी १४ र प्राविधिकतर्फ इञ्जिनीयर एक, सवइञ्जिनीयर पाँचौँ चार, सहायक सवइञ्जिनीयर चौथो छ गरी ११ को दरबन्दी खाली छ ।
       
गाउँपालिकाका आठ वडामध्ये एक वडामा मात्र वडा सचिव छन् बाँकी सात वडामा वडा सचिवको दरबन्दी खाली छ । यसले गर्दा वडा तथा गाउँपालिकाको काम प्रभावित बनेको छ । प्रशासनमा रहेका एक खरिदार सङ्घमा समायोजन भएकाले रमाना लिने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ३५ दरबन्दी रहे पनि चारमात्रै कर्मचारी भएपछि योजना सम्झौता, फरफारकदेखि सेवाग्राहीका काममा समस्या परेको छ ।

गाउँपालिकामा लेखा शाखामा अधिकृतसहित चारको दरबन्दी छ तर एक जना पनि कर्मचारी नहुँदा कारोवार बन्दजस्तै बनेको छ । गत पुस महिनादेखि आर्थिक कारोवारसमेत ठप्प भएको छ । शिक्षा, कृषि र पशु शाखामा पनि कर्मचारी खाली छन् । सम्बन्धित शाखामा काम गर्ने कर्मचारी नहुँदा पशु शाखा र कृषि शाखाबाट हुने काम राम्रोसँग गर्न गाउँपालिकालाई समस्या परिरहेको छ ।
 
कर्मचारीको दरबन्दी रहे पनि न्यून कर्मचारी हुँदा गाउँपालिका तथा वडा कार्यालयको काम गर्न समस्या परिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगर बताउछन । “गाउँपालिकामा कार्यरत कर्मचारी समायोजन भएर अन्यत्र जाने र धेरैजसो शाखा खाली रहँदा समस्या परिरहेको छ, यस सम्बन्धमा सम्बन्धित निकायमा जानकारी गराइएको छ”, अध्यक्ष मगरले भने ।
 
सम्बन्धित निकायमा कर्मचारी पदपूर्तिका लागि पटकपटक माग गरे पनि सुनुवाइ नभएको अध्यक्ष मगरको भनाइ छ । कर्मचारी अभावले नागरिकले सहज सेवा पाएका छैनन् । योजनाका काम गर्न, फरफारकदेखि विभिन्न कार्य गर्न समस्या परिरहेको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए ।
  
“कार्यालयमा कर्मचारी अभावले नागरिकलाई सहज सेवा दिन पाइएको छैन, प्रदेश र सङ्घमा कर्मचारी माग गरिए पनि पदपूर्ति नहुँदा काममा समस्या परेको छ, सेवाग्राहीले पनि सहज सेवा नपाएको गुनासो गरिरहनुभएको छ”, उनले भने । गाउँपालिका तथा वडा कार्यालयमा सेवा लिन पुगेका नागरिक कर्मचारी अभावका कारणले पटकपटक कार्यालयमा धाउनुपरेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि स्थानीय तहमा कर्मचारी समस्याले कामकाजमा समस्या परिरहेको छ । 

स्थानीय तहमा कार्यरत कर्मचारी सङ्घ र प्रदेशमा समायोजन भएर जान थालेपछि स्थानीय तहका विभिन्न शाखा कार्यालय खाली बनेका छन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया