क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग

मंगलबार, ०६ फागुन २०७६, १४ : ४६

राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अबस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् ।

आजको बैठकको शून्य समयमा सत्तापक्षीय नेकपाका सांसद बलरामप्रसाद बाँस्कोटाले चीनबाट हालै फिर्ता ल्याएर क्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरेका हुन । 

चीनबाट नेपाली विद्यार्थीलाई समयमै उद्धार गरेकामा सरकारलाई धन्यवाद दिँदै उहाँले फिर्ता ल्याउन नसकिएका अन्य चार विद्यार्थीको अवस्थाबारे पनि जानकारी दिन सरकारसँग आग्रह गरे । 

सरकारले केही दिनअघि चीनबाट उद्धार गरेर ल्याइएका १७५ जना विद्यार्थीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेर सूक्ष्म अनुगमन गरिरहेको छ ।

नेकपाका अर्का सांसद नैनकला ओझाले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा र नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन । 

 नेपाली काँग्रेसका सांसद प्रकाश पन्तले विभिन्न विश्वविद्यालय र संवैैधानिक आयोगमा पदाधिकारीले पूर्णता नपाउँदा कामकाज नै प्रभावित भएको भन्दै  रिक्त पदपूर्ति कहिलेसम्म हुन्छ भनी प्रश्न गरेका छन।
 

मंगलबार, ०६ फागुन २०७६, १४ : ४६

प्रतिक्रिया