वर्षाले जागेको बाली

४ बर्ष अगाडि

हरेक वर्ष मुस्किलले एक बाली लगाउने पश्चिम जाजरकोटका स्थानीयवासी यस पटक दुई बाली लगाउँदा खुशी भएका छन् । उत्पादनका हिसाबले आयातित अन्न प्रयोग गर्न बाध्य स्थानीयवासी यस पटकको वर्षाले दुई बाली लगाउन पाउँदा खुशी भएका हुन् । वर्षायाममा आकाशे पानीको भरमा मकैखेती गर्दै आएका पश्चिम जाजरकोटका स्थानीयवासी अहिले हिउँदयाममा पनि सोचेजति पानी परेपछि गहुँबालीसमेत खेतबारीमा फलाउन पाउँदा खुशी भएको छेडागाड नगरपालिका–५ का रेशम शाहीले जानकारी दिए।
 
“हाम्रो गाउँमा सिँचाइको सुविधा छैन, आकाशे पानीको भरमा खेती लगाउनुपर्छ, योपटक हिउँदयाममै प्रशस्त पानी परेपछि गहुँबाली सप्रिएको छ”, उनले भने । यहाँजस्तै जुनिचाँदे गाउँपालिका–७ का महेन्द्र खड्काको खुशी कम छैन । उनको जमीनमा पनि योपटक दुईबाली लगाउने अवसर जुटेको भन्दै खुशी भएको बताए ।

उनले  भने, “यस्तै हरेक वर्ष वर्षा भएको भए बाहिरबाट अन्न बेसाएर ल्याउनुपर्ने थिएन । हाम्रो खेतबारीमा उत्पादन गरेको अन्नले छ महिना नपुग्ने भएकाले बाहिरबाट चामल ल्याएर खानुपर्ने बाध्यता छ ।  सायद यो वर्ष अन्न खरिद गर्नुपर्दैन होला ।” मकैबाली उत्पादनका हिसाबले मुख्यबाली हो । धान उत्पादन गर्ने खेत नहँुदा चामलका लागि खाद्य संस्थान र स्थानीय बजारको विकल्प नभएको छेडागाड नगरपालिका–३ दशेराका स्थानीयवासी टेकबहादुर थापाले बताए ।

तीन स्थानीय तह पश्चिम जाजरकोटमा पर्दछन् । खेतीयोग्य जमीन धेरै भए पनि सिँचाइ सुविधा नहुँदा वर्षायाममा मकै, कोदोले भरिभराउ हुने जमीन हिउँदयाममा रित्तो हुने गरेको स्थानीयवासी बताउँछन् ।  हिउँदयाममा पानी परेमा मात्र गहुँबाली स्थानीयवासीले लगाउँछन् । “जमीन भएर के गर्नु, सिँचाइ नहुँदा बाँझो राख्नुको विकल्प छैन”, छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष प्रेम खत्रीले भने, “नगरपालिकासँग ठूलो बजेट छैन, अब प्रदेश र सङ्घ सरकारको भर पर्नुपर्ने बाध्यता छ ।”

छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा १५ प्रतिशत खेतीयोग्य जमीनमा मात्र धौधौले सिँचाइ सुविधा पुगेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बताए । उनले भने, “हामीसँग बजेट छैन, प्रदेश र सङ्घ सरकारसँग सिँचाइका लागि अनुरोध गरेका छौँ ।” उनका अनुसार  वडा नं ११ को ढुङ्गिल सिँचाइ आयोजना र वडा नं १० को नाउलीखेत सिँचाइ आयोजना निर्माण जारी छ । वडा नं १२ सालवगर र वडा नं १ खाराखेतमा सिँचाइ आयोजना निर्माण भई कृषकले सिँचाइ सुविधा उपभोग गरिसकेका छन् । 
 
किसानसँग नगरप्रमुख कार्यक्रम 

कृषकको जीवनस्तर सुधार्नका लागि छेडागाड नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको छ । रु ४० लाख रकम विनियोजन गरेर जनतासँग नगरप्रमुख कार्यक्रम सञ्चालनमा ल्याइएको नगरपालिकाका सूचना अधिकृत देवबहादुर बुढाले जानकारी दिए । यो कार्यक्रममार्फत सहकारी, समूह र उत्पादन समूहलाई बजेट उपलब्ध गराएर कृषकको जीवनस्तर माथि उठाउने लक्ष्य लिइएको नगर प्रमुख महतराले जानकारी दिए ।
      
उत्पादनका हिसाबले कुन ठाउँमा के बाली बढी उत्पादन हुन्छ सोही हिसाबले पकेट क्षेत्र घोषण गरेर काम गर्ने योजनाका साथ अगाडि बढेको उनको तर्क छ । यो वर्ष कृषकलाई खेतबारी जोत्न सजिलो होस् भनी हातेट्र्याक्टर, टिमुर टिप्दा प्रयोग हुने औजार वितरण गरिरहेको छ । त्यस्तै वन तथा वातावरण मन्त्रालयबाट वडा १, २ र ३ मा टिमुरका लागि विशेष क्षेत्र घोषण गरी काम शुरु भएको छ । नगरपालिकाले नगरका सबै वडामा टिमुर खेतीका लागि अघिल्लो वर्ष ५५ हजार बेर्ना उत्पादन गरी कृषकलाई वितरण गरेको थियो भने अहिले वडा नं १२ मा ६५ हजार बेर्ना उत्पादन भइरहेको छ । मौसमअनुसारको बीउसमेत वितरण गरिएको बताइएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया