शुरु भो ऐतिहासिक दुगुनागढीको मर्मत कार्य

४ बर्ष अगाडि

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ३ स्थित ऐतिहासिक दुगुनागढीको मर्मत कार्य शुरु भएको छ ।

सो गाउँपालिकाको  रु २० लाख ५० हजारबाट उपभोक्ता समितिमार्फत मर्मत कार्य शुरु गरिएको हो । नेपाल र तिब्बतबीच युद्ध हुँदा विसं १९१२ मा निर्माण भएको १६४ वर्ष पुरानो उक्त गढी ०७२ सालको भूकम्पबाट क्षति भएको थियो ।  भ्रमण वर्षका अवसरमा पर्यटन भित्र्याउने उद्देश्यले ऐतिहासिक गढीको मर्मत गर्न लागेको गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । 
    
माथिल्लो गढीको भित्री भागको मर्मत सम्पन्न भई बाहिरी भागको काम बाँकी रहेको र तल्लो गढीको पनि भित्री भाग बनाउने काम भइरहेको अध्यक्ष उनले बताए । उक्त गढीको हालै पुरातत्व विभागका पुरातत्वविद्ले निरीक्षण गरी बजेटको  व्यवस्था गर्ने जानकारी दिएका थिए ।  

त्यसैगरी वाग्मती प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने बताइएको छ । गढीको काम सम्पन्न गर्न रु दुई करोड आवश्यक पर्ने सो गाउँपालिकाले जनाएको छ । पालिकाको वडा नं ३ तातोपानीको दुगुना गाउँमा पर्ने उक्त गढी तातोपानी बजारबाट करिब १० किलोमिटरमाथि रहेको छ । राणा शासनकालमा जनरल धीर शमशेरको नेतृत्वमा विसं १९११ मा शुरु गरी एक वर्षपछि निर्माण सम्पन्न भएको उक्त गढी कडा ढुङ्गा कुदेर किल्लाको निर्माण गरिएको छ । 

समुद्री सतहबाट करिब २२०० मिटर उचाइमा पर्दछ । लगभग २०० रोपनी क्षेत्रमा फैलिएको गढीबाट भोटेकोशी नदी पारि रहेको करिब ३० किलोमिटर टाढा पर्ने तिब्बतको कुती बजारसम्म तोपको गोला प्रहार गरी शत्रु भगाउन सकिने इतिहासमा उल्लेख छ । 
    
त्यहाँबाट भोटेकोशी गाउँपालिकाका प्रायः सबै स्थान र तिब्बतको खासा तथा कुती लगायतको दृश्यावलोकन गर्न सकिन्छ । उक्त गढीको बाह्रबिसेको खोर्खानीबारीस्थित तत्कालीन केवलजंग गुल्मले २०५७ सालमा सामान्य मर्मत गरेको थियो । नेपाली सेनाबाट खासै पहल हुन नसकेको स्थानीयको भनाइ छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया