गलकोट नगरपालिकामा राष्ट्रिय विभुतिको नाउँमा मल्ममा पदमार्ग

४ बर्ष अगाडि

राष्ट्रिय विभूति अमरसिंह थापाको नाउँमा गलकोट नगरपालिका–७ मल्ममा पदमार्ग बनीरहेको छ । 
अमरसिंह पदमार्ग’ले सप्ताहघाट–बगाले थापा कुल मन्दिर–राम्चेढुङ्गा हुँदै पर्यटकीय लेक घुम्टेलाई जोड्ने छ । पदमार्ग निर्माण डेढ वर्षअघि शुरु भएको थियो ।

 हालसम्म करिब एक किमिमा पदमार्ग बनेको छ । आउँदो महिना बगाले थापा कूल मन्दिरसम्म पुग्नेछ । राम्चे ढुङ्गासम्म जोड्न थप दुई किमि दूरी बाँकी छ । अर्को वर्षसम्म निर्माण सक्ने लक्ष्य लिइएको ७०० बगाले थापा समाज मल्मले जनाएको छ । 

पदमार्ग निर्माणमा अहिलेसम्म वडाको रु १५ लाख र समाजको रु सात लाख खर्च भएको छ । 

स्थानीयवासीको श्रमदान पनि परेको छ । “यो वर्ष वडाको बजेट छैन, हाम्रै आन्तरिक स्रोतबाट पदमार्गको काम भइरहेको छ”, समाजका अध्यक्ष दलबहादुर थापाले भने, “अर्को वर्षसम्म राम्चेढुङ्गासम्म पु¥याउन सके त्यहाँबाट अर्को पदमार्गमा जोड्न सकिन्छ ।” मल्मकै दरमखोलाछेउको भीमसेन ढुङ्गा–आँगाखेत–सिरबारे–मल्मडाँडा–भल्साङ–राम्चेढुङ्गा हुँदै घुम्टे जोड्ने अर्को पदमार्ग पनि निर्माणाधीन छ । ‘अमरसिँह पदमार्ग’लाई राम्चेढुङ्गामा लगेर सोही पदमार्गसँग जोड्ने समाजको योजना छ ।

राष्ट्रिय विभूति अमरसिंह थापाको सम्मानमा उहाँकै नाममा पदमार्ग बनाइएको समाजका केन्द्रीय प्रतिनिधि छुमबहादुर थापाले बताउनुभयो । मातृभूमिको रक्षा र स्वाधीनताका लागि अमरसिंह थापाको अतुलनीय योगदान रहेको उनको भनाइ छ । 

मल्म बगाले थापा बाहुल्य गाउँ पनि हो । राष्ट्रिय विभूति अमरसिंह थापा, भिमसेन थापालगायत पनि बगाले थापा वंशका हुन् । पदमार्ग बनेपछि पर्यटकीय गन्तव्य राम्चेढुङ्गा, घुम्टेलगायतका स्थानमा आउजाउ गर्न सहज हुनेछ ।

पर्यटनमैत्री हिसाबले नै पदमार्ग निर्माण गरिएको छ । स्थानीय सीप र स्रोत, साधन प्रयोग भइरहेको छ ।

 पर्यटन प्रवद्र्धनको उद्देश्यले पदमार्गमा लगानी गरिएको वडा कार्यालयले जनाएको छ । 

पर्यटकसहित स्थानीयवासीलाई समेत पदमार्गले टेवा पु¥याउनेछ । दरमखोलाको भिमसेन ढुङ्गा हुँदै घुम्टे जोड्ने अर्को पदमार्ग निर्माणले पनि गति लिएको छ ।

 उक्त पदमार्गका लागि गत आवमा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु २० लाख बजेट छुट्टाएको थियो ।

करिब १५ किमिको सो पदमार्गलाई आगामी दुई वर्षभित्र घुम्टे पु¥याउने लक्ष्य छ । 

भिमसेन ढुङ्गादेखि राम्चेढुङ्गासम्म पहिलो खण्ड र राम्चेढुङ्गा, अजिराखर्क, तुलसी मैरो, भीमसेनलौरी हुँदै घुम्टेसम्मलाई दोस्रो खण्डमा बाँडेर काम भइरहेको छ ।

 पदमार्ग बनेपछि प्राकृतिक सौन्दर्य, गाउँले संस्कृति र जीवनशैलीमा रमाउँदै पर्यटक घुम्टे पुग्नेछन् । पदमार्ग निर्माणमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पवर्तले समन्वय तथा अनुगमन गरिरहेको छ । 

तीन हजार ११० मिटरको उचाइमा अवस्थित घुम्टे लेक प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक हिसाबले महत्वपूर्ण छ ।

 घुम्टेको चुचुरोमा सिद्ध र भैरवको मन्दिर छ । वर्षेनी वैशाखे पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्छ । 

विगत आठ वर्षदेखि नयाँ वर्षको अवसरमा घुम्टेमा ‘गुराँस उत्सव’ पनि हुँदै आएको छ । 

 पर्यटकीय लेक घुम्टे र राम्चेढुङ्गालाई लक्षित गरेर निर्माण भइरहेका दुवै पदमार्गले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएको छ । 

‘अमरसिंह पदमार्ग’छेउ सानाखोलामा अमरसिंह थापाकै अर्धकदको शालिक पनि राखिने भएको छ ।

आउँदो चैत १४ गते आयोजित कर्णेल उजीरसिंह थापाको २२४ औँ स्मृति दिवसका अवसरमा शालिक अनावरण गरिने ७०० बगाले थापा समाज मल्मले जनाएको छ । 

शालिक राख्नका लागि स्व। टोपबहादुर थापाको स्मृतिमा उहाँकी श्रीमती खिमाकुमारीले निःशुल्क जग्गा दिएकी थिइन  । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया