कर्णाली प्रदेशमा अर्गानिक उत्पादन गर्न सिप सिक्दै कृषक

४ बर्ष अगाडि

कर्णाली प्रदेश सरकारले लिएको उद्देश्य पूरा गर्न जाजरकोटका स्थानीय तह जुटेका छन् । अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको योजनालाई सफल पार्न यहाँका स्थानीय तहले विभिन्न क्रियाकलाप गर्दै कामलाई तीव्रता दिएका छन् ।

 जिल्लाको शिवालय र कुशे गाउँपालिकाले यो अभियानलाई तीव्र बनाउँदै कृषकलाई तालिम दिन शुरु गरेका छन् । 

अध्यक्ष कृषि प्राविधिमैत्री कार्यक्रम लागू गरेर शिवालय गाउँपालिकाले अर्गानिक उत्पादनलाई जोड दिएको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए ।
 
गाउँपालिकाका अगुवा कृषकलाई तालीम दिएर गाउँपालिकाले अर्गानिक उत्पादनका साथै जैविक विषादी उत्पादन र रसायनिक विषादी निषेधको काम थालनी गरेको छ । 

स्थानीय जातका तितो, टर्रो जातका झारपातबाट जैविक विषादी निर्माण गरी अर्गानिक उत्पादन गर्न लागिएको शिवालय गाउँपालिका कृषि शाखाका प्रमुख विश्वमित्र शर्माले जानकारी दिए । 

जैविक विषादी बढी उत्पादन गर्ने कृषकले प्रतिबोतल रु १५ का दरले बिक्री वितरण गर्ने अभियान चालेको उनले बताए । पहिलो चरणमा ७५ अगुवा कृषकलाई जैविक विषादी निर्माणको सीप सिकाइको छ । 

त्यस्तै टिमुरखेतीसम्बन्धी तालीम कृषकलाई दिइएको छ । यो आर्थिक वर्षमा सानो बजेटबाट शुरु गरिएको कार्यक्रमको प्रभावकारिता हेरेर अर्को वर्ष बजेट थपघटको बाटो अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।
 
त्यस्तै ‘एक घर, एक करेसाबारी’ कार्यक्रम शुरु गरिएको छ । आफ्नै बारीमा तरकारी उत्पादन गरी अर्गानिक स्वाद लिन यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।

 कृषकलाई बेमौसमी तरकारी बालीको बीउबिजन वितरण गरिएको छ । चैत महिनाभित्र यहाँका सबै कृषकको खेतबारीको माटो जाँच गर्न लागिएको छ । 

उत्पादन वृद्धि गरी अर्थोपार्जन गर्न सहज होस् भनी गाउँपालिकाले माटो जाँच गर्न लागेको हो । 

त्यस्तै कुशे गाउँपालिकाले अर्गानिक गाउँपालिका घोषणा गर्न विषादी प्रतिबन्ध लगाएर काम थालनी गरेको छ । 

कृषकलाई तालिमदेखि उन्नत जातको बीउ वितरण गरिएको कृषि शाखाका धीरेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया