आधुनिकीकरण नहुँदा तामा व्यवसाय सङ्कटमा

४ बर्ष अगाडि

आधुनिकीकरण र कच्चापदार्थ अभावले डडेल्धुराका तामा व्यवसायी सङ्कटमा परेका छन् । समयअनुसारको सीप र दक्षता नहुँदा तथा विकल्पमा अरू पेशा पनि नभएकै कारण तामाको काम गर्ने ताम्राकारको पेशा सङ्कटमा परेको हो । 

तामा सहज रुपमा बजारमा नपाइने हुँदा पनि व्यवसाय सञ्चालन गर्नका लागि समस्या भएको उनीहरुको गुनासो छ । तामाको कच्चा पदार्थका लागि नेपालगञ्ज वा भारत जानुपर्ने बाध्यता छ । पछिल्लो समय तामाका भाँडाकुँडाको  विकल्पमा बजारमा प्लास्टिक र स्टिलका सामग्रीको प्रयोगले पनि  पेशा सङ्कटमा पुगेको उनीहरुले गुनासो गरेका छन् । 

तामा व्यवसाय सङ्कटमा परेपछि यहाँका युवा भारत वा अन्य तेस्रो मुलुक जान बाध्य भएको अमरगढी–६ छचोडाका गङ्गाराम ताम्राकारले बताए । त्यहाँ उत्पादन गरिएको तामाका भाँडाकुँडा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशसम्मलगायत विभिन्न स्थानमा निर्यात हुने गरेका छन् ।

डडेल्धुरामा करिब २०० दलित परिवार तामा व्यवसायमा संलग्न रहेका छन् । युवा पुस्ताले नयाँ पेशाको खोजी गर्न थालेपछि तामाका भाँडाकुँडा बनाउने काम हराउँदै गएको अमरगढी नगरपालिका–६ का व्यवसायी दिलीप ताम्राकारले बताए ।  

तामाको कच्चा पदार्थलाई गलाई हठौडाले ठोकी ताम्राकारहरुले भाँडाकुँडा बनाउँदा निकै मेहनत गर्नुपर्ने र शारीरिक रुपमा पनि निकै बल प्रयोग गर्नुपर्ने भएकाले नयाँ पुस्ता यसमा रुचि नराख्ने गरेको उनले बताए। राज्यले आफूहरुको सीप र कलाको उचित मूल्याङ्कन नगरेको उनको भनाइ छ । समयानुसार पेशालाई अधुनिकीकरण गरेमात्र तामाको व्यवसाय फस्टाउन सक्दछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया