यती एयरलाइन्सले घटायो टिकटको मूल्य

आइतबार, ०९ चैत्र २०७६, २० : ३१

आन्तरिक उडानको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो उडानमा टिकटको मूल्य घटाएको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको प्रभावले काठमाडौँबाहिर जाने यात्रुको सहजताका लागि विभिन्न गन्तव्यको टिकटको मूल्य सस्तो बनाइएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो । यतीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराका लागि हवाई टिकटको मूल्य घटाएको छ ।

नयाँ भाडादरअनुरुप यतीले भद्रपुर गन्तव्यका लागि रु ६ हजार २०० नयाँ टिकट दर कायम गरेको छ । यसअघि कम्पनीले यो गन्तव्यमा रु ९ हजार भाडा लिन्थ्यो । विराटनगरमा साधारण रु ७ हजार ४५० रहेकामा अहिले घटाएर रु ५ हजार ५०० बनाइएको छ । त्यस्तै भैरहवाको पहिला रु ६  हजार १०० रहेकामा अहिले रु ४ हजार ९००, नेपालगञ्जमा पहिला रु ९ हजार ८५० रहेकामा अहिले रु ६ हजार ३०० र पोखरामा साधारण रु ५ हजारबाट घटाएर रु ३ हजार ७०० निर्धारण गरिएको छ ।

उल्लिखित गन्तव्यबाहेक पनि न्यूनतम मूल्यका टिकटहरु खरिद प्राथमिकताका आधारमा उपलब्ध रहिरहने कम्पनीले जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायु सेवा  सञ्चालक सङ्घ र सर्वसाधरणको अनुरोधमा लामो दूरीका सवारीसाधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको र यो भाडादर सोमबारदेखि लागू हुने विज्ञप्तिमा भनिएको छ ।
 

आइतबार, ०९ चैत्र २०७६, २० : ३१

प्रतिक्रिया