कोभिड : जाँचपछि मात्र रामपुर प्रवेश

सोमबार, १० चैत्र २०७६, १४ : २३

रामपुर नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन नगरको प्रवेशमा कडाइ गरेको छ ।

 नगरपालिकाले रामपुर क्षेत्रमा कोभिड– १९ को त्रास फैलिन नदिन यस क्षेत्रमा प्रवेश गर्ने यात्रुलाई अनिवार्य स्वास्थ्य परीक्षण शुरु गरेको छ । 
। 
 नगरपालिकाले प्रदेश पाँच र गण्डकी प्रदेशको सिमाना कालीगण्डकीको कोलादी पुलमा सोमबारबाट यात्रुको स्वास्थ्य परीक्षण शुरु गरेको हो । 

कोरोना भाइरसको सङ्क्रमण भित्रन नदिन बजार क्षेत्रको नाकामा स्वास्थ्य जाँच सहायता कक्ष नै स्थापना गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

 “कोरोना भाइरसबाट सर्तक रहन बाहिरबाट रामपुर भित्रने नागरिकलाई स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराउने व्यवस्था मिलाएका छौं”, उनले भने, “कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि नगरका विभिन्न स्थानमा हेल्प डेस्क सेवा तथा परामर्श कक्ष, आइसोलेशन कक्ष, घरदैलोमा पुगेर सचेतना जगाउने काम भइरहेको छ 

।” नगरपालिकाले स्वास्थ्य परीक्षणका क्रममा शङ्कास्पद लक्षण देखिए त्यस्ता व्यक्तिलाई राख्नका लागि आइसोलेसन कक्षको स्थापनासमेत गरेको छ । 

त्यस्तै, मास्कको अभाव हुन नदिनका लागि नगरपालिकाले दश हजार मास्क उत्पादन गरिने भएको छ । 

नगरका विभिन्न स्थानमा साबुनपानीले हातधुने, स्यानीटाइजरको प्रयोग गर्न सिकाउने, घरदैलोमा जनप्रतिनिधि पुगेर पर्चा पम्पलेट, मास्क वितरण गर्ने, माइकिङ्ग गर्ने जस्ता सचेतनामूलक कामहरु नगरपालिकाले गरिरहेको उनले बताए । 

काठमाण्डौँमा बसोबास गरेका यहाँका नागरिकलाई सहज यात्रा गराउन नगरपालिकाले निःशुल्क बस सेवा सञ्चालन गरेपछि सोमवार बिहान करिव एक सय ५० जना रामपुर भित्रिएका छन् । 

उनीहरुलाई नगरपालिकाले केलादी पुलमा स्वास्थ्य परीक्षण गरेर मात्र पठाइएको छ । 

स्वास्थ्य परिक्षण गरिएकामध्ये आधा दर्जन व्यक्तिमा ज्वरोको समस्या देखा परेकाले उनीहरुलाई थप परीक्षणका लागि रामपुर अस्पतालमा लैजाने तयारी भएको अस्पतालका सुपरीटेण्डेन डाक्टर विजय परियारले जानकारी दिए । 
 

सोमबार, १० चैत्र २०७६, १४ : २३

प्रतिक्रिया