काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको पक्राउविरुद्ध सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको छ ।
मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित उनकी पत्नी सारिका कार्कीले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् ।
रिटमा मिश्रलाई गैरकानुनीरूपमा थुनामा राख्ने उद्देश्यले एकपछि अर्को आरोप थपिएको, अनुसन्धानमा प्रगति नहुँदा पनि अदालतले थुनाको म्याद थप्ने अनुमति दिएको उल्लेख छ ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाट भएपछि त्यसैदिन मिश्र पक्राउ परेका थिए ।
सारिकाले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला अदालत, महान्यायाधिवक्ता रमेश बडाल, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई विपक्षी बनाएकी छन् ।
प्रतिक्रिया