नेकपा र काँग्रेसका संघीय साँसदले प्रतिव्यक्ति २७ हजार रुपैयाँ राहत कोषमा जम्मा गर्ने

मंगलबार, ११ चैत्र २०७६, १४ : ११

संघीय संसद अन्तर्गत सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी काँग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने भएका छन् ।

ति दुई पार्टीले आ आफ्ना नेताहरुसँगको टेलिफोन बैठकपछि राहत कोषमा १५ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेका हुन् । 

सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिममा परेकालाई राहत दिन ५० करोडको राहत कोष स्थापना गरेको छ । 
संघीय सांसदले एक महिनामा रु.५५ हजार २३० पारिश्रमिक पाउने भएकोले १५ दिनको पारिश्रमिक रु.२७ हजार ६१५ हुन्छ । 

नेकपा साँसद विन्दा पाण्डेका अनुसार संसदीय दलका उपनेता, मुख्य सचेतक, सचेतकलगायत केही सांसदले टेलिफोनमा छलफल गरेर निर्णय गरिएको हो । 

त्यस्तै नेपाली काँग्रेसले पनि हरेक साँसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गर्दै लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि सकारसँग आग्रह गरेको छ । 

रकम कोषको राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखाको खाता नम्बर १९६०००००११०१ मा जम्मा गरिनेछ । 

मंगलबार, ११ चैत्र २०७६, १४ : ११

प्रतिक्रिया