पोखरामा विपन्नलाई राहत दिन २ करोडको राहत कोष

सोमबार, १७ चैत्र २०७६, १५ : ४०

कोरोना भाइरसको संक्रमणका कारण रोजगारी गुमेपछि परिवार पाल्न मुस्किल भएका विपन्न तथा मजदुरलाई राहत दिन पोखरा महानगरपालिकाले २ करोडको राहत कोष स्थापना गर्ने भएको छ ।

महानगरले दैनिक ज्यालादारी गरेर छाक टार्ने अति विपन्न परिवारको लागि राहत दिन राहतकोष स्थापना गर्ने भएको हो । 
 
महानगरले हरेक वडाबाट विपन्न परिवारलको संख्या संकलन गरि सो कोषबाट राहत बाड्ने जनाएको छ । ‘प्रत्येक वडालाई त्यस्ता किसिमका परिवारको नामावली संकलन गर्न निर्देशन दिई सकेका र्छौँ’, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले भने, ‘नामावली आएपछि राहत बाड्न शुरु गर्छौँ ।’
वडाले त्यस्ता परिवारको किटान गरि सकेपछि टोकन वितरण गर्ने छ । टोकन पाएको परिवारले आफ्नो टोल नजिकैको पसलबाट उक्त राहत पाउने छन् । राहत २ हजार रुपैयाँ रकम बराबरको हुने छ । 

प्याकेजमा २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, नुन र एक केजी गेडागुडी रहेको छ । 

महानरले करिब १० दिनसम्मको लागि यो प्याकेज ल्याएको हो । तर, १० दिनसम्ममा पनि रकम नसकिए राहत कार्यक्रम थप्ने मेयर जीसीले बताए । ‘बिपत्तिको बेला कोही पनि भोको नरहुन् भन्ने महानगरको उद्देश्य हो,’ उनले भने ।

सोमबार, १७ चैत्र २०७६, १५ : ४०

प्रतिक्रिया