संघीय सरकारले विपन्न र मजदुरलाई राहत दिने घोषणा गरेको भोलीपल्टै काठमाडौं महानगरपालिकाले राहतवितरण गर्न मापदण्ड पारित गरेको छ ।
महानगरपालिकाले आज ज्याला मजदुरी गरेर गुजारा गर्ने तर लकडाउनका कारण छाकटार्न नपाएकाहरुलाई राहत दिन मापदण्ड बनाएको हो ।
मापदण्ड पारित भएसँगै दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिको पहिचान गरी मापदण्ड अनुसार राहत उपलब्ध गराइने महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।
सरकारले लकडाउन जारी गरेपछि अत्यावश्यक सेवाबाहेक सबै बन्द भएको छ । मानिसलाई घरबाहिर निस्कन रोक लगाएको लगायतका कारणले महानगपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिको पहिचान गरी उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन मापदण्ड पारित गरिएको प्रमुख शाक्यले जानकारी दिए ।
मेयर शाक्यका अनुसार अहिले असहाय, अतिविपन्न र ज्यालादारी मजदुरको पहिचानको काम भइरहेको बताए । ‘असहाय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिको पहिचानमा विवरण संकलन भइरहेको छ,’ उनले भने, ‘यसका लागि ३२ वटै वडा कार्यलयल मार्फत काम भइरहेको छ ।’
महानगरको कार्यपालिकाको बैठकले पशुपंक्षी, चराचुरुङ्गीलगायतका चौपायलाई समेत आहरा दिने निर्णय गरेको छ । पशुपंक्षीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि महानगरपालिकाले ३२ वटै वडाले उनीहरूलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको हो ।
लकडाउनमा होटल, रेष्टुराँ सञ्चालन हुँदा सामूदायिक कुकुर, बाँदर र छाडा चौपायाले खानेकुरा खान नपाएको हुँदा आहाराको व्यवस्था गर्न ३२ वटै वडाले पहल गर्ने निर्णय भएको मेयर शाक्यले बताए । ‘राहत वितरण पशुपंछीका आहार लगायतका लागि ठूला वडालाई चार, मझौला वडालाई तीन र साना वडालाई दुईलाख थप निकासा दिएका छौँ । आवश्यक पर्यो भने पुनः थप गर्ने निर्णय भएको छ,’ उनले भने ।
प्रतिक्रिया