लक डाउन कार्यान्वयनमा स्थानीय तह: पुल भत्काउनेदेखि भाटा हान्नेसम्म

मंगलबार, १८ चैत्र २०७६, १४ : ५४

 कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन सरकारले जारी गरेको लकडाउन कार्यान्वयन भन्दै स्थानीय तहले पुल भत्काउने देखि जनतालाई भाटा हान्नेसम्मका काम गर्न थालेका छन् ।

गाउँमा स्थानीय जनताले लकडाउन कार्यान्वयन नगरेको भन्दै ५ नम्बर प्रदेशको प्युठानमा पुल भत्काएर आवतजावत बन्द गरिएको छ भने गुल्मीमा घर बाहिर निस्कनेलाई भाटा हान्ने निर्णय भएको छ । 

प्युठानको स्वर्गद्धारी वडा नंवर ५ का वडाध्यक्ष हिरामणि भण्डारीले झोलुङ्गे पुलको पट्टा नै निकालेर आवागमन अवरुद्ध गराएका हुन् । 

वडा प्रवेशमा कडाइ गर्दै, खोलाखेत र दमार चतुर्भुजको झोलुङ्गेपुल ,पुर्ण रुपमा बन्द गरेको छ, भने कोलम्पा बाटुलेको पुलमा ग्याबिन तार लगाई इमर्जेन्सी आवतजावतको व्यवस्था गर्न कर्मचारी खटाउने र रातिको समयमा वडा बाहिर जादा वा भित्रीदा वडाको अनुमतिलिई आउने ब्यवथा मिलाइएको वडाअध्यक्ष भण्डारीले बताए । 

उनी आफै पुगेर पुलमा विछयाएको फल्याकहरु निकालेका छन् । ‘लकडाउनको उलघंन गर्दै यो पुल भएर अनावस्यक आवतजावत बढेपछी यस्तो कार्य गरिएको हो’, उनले भने ‘पुरै देश लकडाउनमा रहेकोले गाउँमा पनि त्यस्को प्रभावकारी कार्यान्वयन गर्ने हाम्रो उद्धेस्य हो ।’ 

तर स्थानीयबासीले भने  पुलको पट्टा नै निकालेर आउजाउ रोक्ने कार्य गलत भएको बताउछन। ‘जनतालाई ईमर्जेन्सी परे चौविसै घण्टा हिँड्नुपर्ने पुल भत्काउनु गलत हो, लकडाउन कार्यान्वयनका अरु उपाय छन्’, स्थानीय घनश्याम अस्तित्वले भने । 

त्यस्तै गुल्मीको धुर्कोट गाउँपालिका ५ मा लकडाउन अवधिभर बाहिर निस्कनेलाई भाटा हानेर कारबाही गर्ने निर्णय गरेका छन् । सो वडामा मानिसहरु टोल–टोलमा भेला हुने, खेलहरु खेल्ने, तास खेल्ने, पसलहरुमा भिड लगाउने गरेपनि सर्वदलिय बैठक बसेर भाटा हान्ने निर्णय गरेको हो । 
अनुगमनका लागि वडामा ५ सदस्य रहेको कार्यदल गठन गरिएको छ । सो कार्यदलले लकडाउनको उल्ङघन गर्नेलाई भाटाले छाप पर्ने गरेर हिर्काउने अधिकार दिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । 
वडालाई २८ वटा टोलमा बिभाजन गरि प्रत्येक टोल नियन्त्रणको लागि ८१ जना युवा स्वयंसेवक  तोकिएको छ । अत्यावश्यक परे वडा कार्यालय र जनप्रतिनिधीलाई खबर गर्नु पर्ने तर बिना कुनै जानकारी लक डाउन तोडे ठाउँको ठाउँ भाटे कारबाही गरिने कार्यदल संयोजक लोकहरी भण्डारी बताए । 
 

मंगलबार, १८ चैत्र २०७६, १४ : ५४

प्रतिक्रिया