छोराहरुको पढाइकाे सरकारले जिम्मा नलिएसम्म लास उठ्दैन

विहीबार, २० चैत्र २०७६, १३ : ११

डाक्टरले कोरोनाको आशंकामा उपचार नै नगरेर मृत्यू भएका रुपन्देहीको सैनामैना नगरपालिका–४ निवासी रीता थापाले छोराहरुको पढाईको जिम्मा सरकारले नलिएसम्म श्रीमानको शब नउठाउने अडान लिएकी छन् । 

कमाएर परिवार पाल्ने र छोराहरु पढाउने श्रीमानको मृत्यु भएपछि आफूसँग आम्दानीको उपाय नभएकोले पढाईको जिम्मा सरकारले नलिएसम्म शव नउठाउने अडान उनले लिएकी हुन् । 

रीताका श्रीमान बाबुराम थापाको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा डाक्टरको हेलचेक्र्याईँका कारण मृत्यु भएको थियो । 

‘६ र ७ वर्षका दुइटा छोरा, अनि ७० वर्षकी सासू हुनुहुन्छ तर केही सम्पत्ति छैन,’ उनले भनिन्, ‘कमाउने श्रीमानको यस्तो हालत बनाए, अब दुई छोराको पढाइको जिम्मा सरकारले नलिएसम्म श्रीमानको लास जिम्मा लिन्नँ।’ 

स्थायी घर पाल्पाको रिब्दिकोट नगरपालिका ४ मा एउटा घरमात्र छ । स्वदेशमा कुनै विकल्प नभएपछि उनका श्रीमान ५ वर्ष देखि बैदेशिक रोजगारीमा गएका थिए ।  रीताले बुटवलमा दैनिक ज्यालादारी गर्थिन् । बाबुरामका दाजु समेत वितेकोले उनीहरुकै कमाईले पाल्पामा रहेका दाइका लालाबालालाई पनि सहयोग गर्ने गरेका थिए।

दुबईमा ट्याक्सी चालक काम गरिरहेका ३४ वर्षीय बाबुराम यही कोरोनाको हल्लाले यही चैत ६ गते नेपाल आएका थिए। 
ज्वरोको समस्या आएपछि उनले स्थानीय मेडिकलबाट औषधि खाएपनि  कोरोनाको हल्ला चलेपछि स्थानीय स्वास्थ्य चौकीले धागो कारखानामा राखिएको कोरोना अस्पतालमा जान सल्लाह दिएको थियो । 

१३ गते सो अस्पत्ताल भनाए भएका बाबुरामलाई त्यहाँका डाक्टरहरुले नजिकबाट समेत नहेर्ने, उपचार नगर्ने, सोधखोज पनि नगर्ने गरेपछि रोग नै पत्ता नलागेर गत आईतबार उनको निधन भएको थियो । डाक्टरले कोरोना संक्रमणको शंका गरेपनि उनको रिपोर्टमा कोरोना संक्रमण देखिएको छैन । 

आफै हिँडेर सैनामैनाबाट बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा पुगेका उनको मृत्यु अस्पत्तालको लापर्बाहीका कारण भएको रीता बताउँछिन् । ‘त्यस्तो मान्छे अचानक मृत्यु भयो भन्ने खबर आउँदा म छांगाबाट खसेझैं भएँ,’ रीताले भनिन्, ‘मेरा श्रीमानको मृत्यु अस्पतालको लापर्बाहीले भएको हो। बरु त्यहाँ उपचार हुँदैन भन्दिएको भए हामी अर्कै अस्पतालमा लगेर बँचाउँथ्यो।’

आफ्ना दुईभाई छोराले स्थानीय प्रभात बोर्डिङ स्कुलमा पढ्छन्। गरिबीका कारण एक वर्ष देखि शुल्क तिर्न नसकेको बताउँदै उनले अब आफूले पढाउन पनि नसक्ने अबस्था आएको गुनासो गरिन् । 
परिवारकै जिम्मा सरकारले लिनुपर्ने रीताको अडान छ । 

विहीबार, २० चैत्र २०७६, १३ : ११

प्रतिक्रिया