चीनबाट सामान ल्याउदाँ भ्रष्टाचार गरेको उपप्रधानमन्त्रीमाथी आराेप, अख्तियारमा उजुरी

विहीबार, २० चैत्र २०७६, २० : ०५

कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार उपप्रधान तथा रक्षा मन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक  महेन्द्र श्रेष्ठ अनि ओम्नी ग्रुपका सञ्चालकविरूद्ध आफूले अख्तियारमा उजुरी दिएको बताए।

'इमेलबाट उजुरी पठाएँ, इमेल प्राप्त भएको सूचना आएको छ,' उनले भने, 'यस्तो संकटका बेला स्वास्थ्य सामग्री ल्याउँदा कमिसन खाने र मुलुकलाई हानी पुर्‍याउने गरी ठेक्का सम्झौता गरेको पाइएकाले उनीहरूमाथि अनुसन्धान गरी मुद्दा चलाउन माग गरेको छु।'

हिजोमात्र विवेकशील नेपाली दलबाट प्रदेश सभा ३ का सदस्य रमेश पौडेलले यही ठेक्का सम्झौतामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरूद्ध अख्तियारमा अनलाईन मार्फत उजुरी दिएका थिए।

त्रिपाठीले उनीहरू सबैलाई तत्काल हिरासतमा लिएर कारबाही अघि बढाउन पनि उजुरीमा माग गरेका छन्।

'प्रमाण समेत मेटाउन सक्ने हुनाले अख्तियार दुरूपयोग आयोग ऐनको दफा १६ र भ्रष्टाचार निवारण ऐनको दफा ३१ बमोजिम तत्काल हिरासतमा लिनु अनुसन्धान तहकिकात गरेर आयोग ऐनको दफा १८ र भ्रष्टाचार निवारण ऐनको दफा ३६ अनुसार मुद्दा चलाउनु भन्ने माग मेरो उजुरीमा छ,' त्रिपाठीले भने।

सरकारले ओम्नीसँग गरेको ठेक्का सम्झौता रद्द गरिसकेको छ।

विहीबार, २० चैत्र २०७६, २० : ०५

प्रतिक्रिया