खानेपानी आयोजनाको निर्माण ठप्प

आइतबार, २३ चैत्र २०७६, १६ : १०

काठमाडौँ उपत्यका र उपत्यका बाहिर नियमित रुपमा खानेपानीको वितरण भइरहे पनि निर्माणाधीन सबै आयोजनाको निर्माणका काम ठप्प भएको छ ।  काठमाडौँ उपत्यकामा वितरणका लागि निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनासँगै देशभरमा रहेका ठूला र साना आयोजनामा निर्माण अघि बढ्न सकेको छैन । 

 ‘लकडाउन’ सँगै यहाँ काम गर्ने कामदारले काम छाडेसँगै अधिकांश आयोजनामा काम हुन नसकेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । ती स्थानमा कामदार, निर्माण सामग्री र कर्मचारी नहुँदा अधिकांश आयोजना ठप्प रहेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए। उनले भने, “कोभिड–१९ को त्रासका कारण कामदारहरुले काम गर्न नचाहनु नै त्यसको मुख्य कारण हो ।”

निर्माणाधीन खानेपानी आयोजनामध्ये  मेलम्ची खानेपानी आयोजनामा निर्माण ठप्प भइसकेको छैन । त्यहाँ कार्यरत नेपाली कामदार आआफ्नो घर फर्किए पनि अहिले त्यहीँभित्र रहेका चिनियाँ कामदारले काम गरिरहेको प्रवक्ता शाक्यले बताए । राजधानीमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, उपत्यका बाहिर नेपाल खानेपानी संस्थान,  खानेपानी बोर्डलगायत संस्थाले पानी वितरण गर्र्दै आएका छन् । खानेपानीको वितरणमा भने कुनै समस्या नभएको मन्त्रालयले जनाएको छ । सरकारले अत्यावश्यक  वस्तुको आपूर्तिका लागि आवश्यक सहजीकरण गर्दै आएको छ । 
 

आइतबार, २३ चैत्र २०७६, १६ : १०

प्रतिक्रिया