कोभिड–१९ विरुद्ध एकजुट भई लड्नुपर्ने : मुख्यमन्त्री राई

आइतबार, २३ चैत्र २०७६, २२ : ०५

प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले अहिले कोभिड–१९ विरुद्ध सबै एकजुट भई लड्नुपर्ने बेला भएको बताएका छन्  । सङ्कट व्यवस्थापन केन्द्र  प्रादेशिक समितिको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै सरकारका हरेक निकाय, सामाजिक सङ्घसंस्था, वित्तीय क्षेत्र सबैसँग सहकार्य र समन्वय गरेर अगाडि बढेमात्र कोरोनाविरुद्धको अभियानमा सफलता पाइने उल्लेख गरे । 

उनले नागरिकमा सचेतना फैलाउने, आपूर्तिको सही व्यवस्थापन गर्ने, सङ्क्रेमित हुन नदिनका लागि सुरक्षा व्यवस्था मिलाउने, सङ्क्रमित भइहाले परीक्षण र उपचार गर्नेलगायतका तयारीहरु प्रदेश सरकारले गरेको बताए । उनले अहिले राहत वितरण अव्यवस्थित रहेकाले त्यसलाई एकद्वार प्रणालीबाट वितरण गरिने र त्यसलाई कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए । 

बैठकले लकडाउनबाट जनस्तरमा पर्न सक्ने विभिन्न प्रकारका समस्या आउन नदिन, अत्यावश्यक उपभोग्य वस्तु तथा खाद्यान्नहरुको अभाव हुन नदिन त्यस्ता वस्तुहरु उत्पादन हुने उद्योगहरुलाई सम्भाव्य जोखिम हुन नदिने गरी सञ्चालन गर्न नेपाल सरकारबाट आह्वान भएको छ र सोही बमोजिम गर्ने गरी वातावरण तयार गर्न त्यस किसिमका उद्योगहरुको सूची तयार गरी आ–आफ्नो कार्य क्षेत्रमा पर्ने उद्योगहरु सञ्चालन गर्न सम्बद्ध मन्त्रालयहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले कोरोनाबाहेकका अन्य बिरामीलाई उपचार सेवाबाट वञ्चित हुन नदिन प्रदेशभित्र त्यस्ता अस्पतालको विवरण सङ्कलन गरी सेवा प्रदान निरन्तरता गराउन तथा एम्बुलेन्स सुविधासमेतको व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ  । 

प्रदेशस्तरमा दैनिक उपभोग्य सेवा तथा वस्तुहरुको अभाव हुन नदिन स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालयहरु, सुरक्षा निकायहरुको सहयोगमा ‘सप्लाई भ्यान’मार्फत सेवा वितरणको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ । 
 

आइतबार, २३ चैत्र २०७६, २२ : ०५

प्रतिक्रिया