सुनसरीमा सिँचाइ र बाली भित्र्याउन समस्या

मंगलबार, २५ चैत्र २०७६, १२ : ३९

देश लकडाउन भएका बेला सुनसरीका कृषकलाई समस्या भएको छ । कोरोना भाइरस कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको बेला कृषकलाई खेतबालीमा सिँचाइ गर्न र उत्पादन भएको बाली भित्र्याउन समस्या भएको हो । 

जिल्ला सदरमुकाम इनरुवासहित कोशी, हरिनगर, देवानगञ्ज, बराहक्षेत्र, बर्जुलगायत गाउँपालिका तथा नगरपालिकामा रहेका कृषकले लकडाउनका कारणले इन्धन, मलखाद र मजदूर नपाएका कारणले उत्पादन भएको बाली घर भित्र्याउन र लगाइएको बालीमा सिँचाइ गर्न समस्या भएको देवानगञ्ज गाउँपालिका– ७ का कृषक बलराम यादवले बताए । 

आफूले ६ बिघा जग्गामा मकै खेती गरेको र इन्धन नपाएका कारणले सिँचाइ नहुँदा खेतमै सुक्ने गरेको कृषक यादवको भनाइ छ । जिल्लामा अहिले मकै र  मौसमी तरकारी खेतीलगायत खेतबारीमै सुकेको तथा गहुँलगायत उत्पादन भएको बाली भित्र्याउनका लागि मजदूर नपाउँदा आफूहरुलाई तनाव उत्पन्न भएको कृषक डुमरलाल मेहताले बताए । 
तेल पर्याप्त मात्रामा आएका बेला उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने गरेको सुनसरी आयल सप्लायर्सका सञ्चालक मनीष माणुले बताए । अहिले पर्याप्त मात्रामा तेल नआएका कारणले कृषकले माग गरेबमोजिमको नपाएको सप्लायर्सका सञ्चालक माडुको भनाइ छ । 

स्थानीय प्रशासन तथा सुरक्षा निकायले लकडाउनका बेला घरबाट बाहिर निस्कन नदिने गरेका कारण तेल लिनका लागि कसरी जाने र लगाइएको बालीमा कसरी सिँचाइ गर्ने भने चिन्ताले सताएको कृषक यादवको भनाइ छ । तेल तथा मलखाद लिनका लागि बाहिर निस्कँदा प्रहरीले ज्यादती गर्ने गरेको कृषकले गुनासो गरेका छन् । 

कृषकको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत पहल भइरहेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नुनुलाल उराँवले बताए । लकडाउनका बेला कृषकलाई  सिँचाइ र बाली भित्र्याउन समस्या भएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख उराँवले जानकारी दिए । कृषकको समस्याका विषयमा आफूसमक्षसमेत गुनासो आएकाले  समाधानका लागि पहल भइरहेको उनको भनाइ छ । 

सुनसरीमा उत्पादित सामग्री जिल्लामा मात्र नभई बाहिरसमेत जाने गरेको छ । यस वर्ष जिल्लामा कृषि उत्पादनमा कमी आउने उराँव ठोकुवा गर्छन् ।
 

मंगलबार, २५ चैत्र २०७६, १२ : ३९

प्रतिक्रिया