चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले आफ्नो नेपालगञ्ज र जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गरेका छन ।
वडाध्यक्ष डाँगीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेश चोक रहेको घर र चन्दननाथ नगरपालिका–६ विजयनगरस्थित घर दुई वटा घरको चैत महिनाको घरभाडा नलिने जनाएका हुन् । उनी स्थानीय तहको निर्वाचन २०७४ मा चन्दननाथ नगरपालिका–९ मा वडाध्यक्षका रुपमा विजयी भएका थिए ।
“सबै घरपरिवारको सल्लाहअनुसार भाडा छुट दिने निर्णय गरेका हौँ ।
कोरोना सङ्क्रमण फैलिने त्रासले मुलुक अहिले लकडाउनमा छ । नेपाल आर्थिक सङ्कटमा गुज्रिरहेको छ”, उनले भने, “यस्तो अवस्थामा नेपाल सरकारले घरभाडा छुट दिन आह्वान गरेको छ । धेरैले भाडा नलिने घोषणा गरिरहेका छन । त्यही सन्दर्भमा हाम्रो घरपरिवारले पनि एक महिनाको घरभाडा नलिने निर्णय गरेको हो ।”
नेपालगञ्ज र जुम्ला गरी दुई घरमा १० जनालाई १० कोठा भाडामा दिइएको छ उनलाई मासिक रु ३१ हजार ५०० घरभाडा आउने गरेको थियो ।
चैत महिनाको घरभाडासहित पानी बिजुली सबै छुट दिनेछौँ । त्यसैगरी यसअघि जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले आफ्नो काठमाडौँमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गरे ।
काठमाडौँको टोखा नगरपालिका–८ रमणबस्ती स्थायी घर भएका प्रहरी नायब उपरीक्षक धामीले चैत महिनाको घरभाडा नलिने घोषणा जुम्लाबाटै गरेका हुन । आफ्नो घरका छ कोठा भाडामा लगाएको उनले बताए । “प्रतिकोठा मासिक साढे तीन हजारका दरले भाडा लिने गरेको थिएँ, यो चैत महिनाको भाडा लिन्नँ”, उनले भने ।
प्रतिक्रिया