स्टकलाई धरासायी बनाउन सेवोन लागेको भन्दै अख्तियारमा गुहार

६ बर्ष अगाडि

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेवोन)का अध्यक्ष रेवतबहादुर कार्की र उच्च कर्मचारी नेपाल स्टक एक्चेन्ज डुबाउन सक्रिय भएर लागेको भन्दै अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी परेको छ ।
स्ूटकले आगामी जेठदेखि सुरु गर्न लागेको अनलाइन शेयर कारोबारलाई रोक्ने र एक निजी कम्पनीलाई प्रमोट गर्ने लक्ष्यका साथ बोर्डका अध्यक्षसहित उच्च अधिकारी नै लागेको भन्दै अख्तियारमा उजुरी परेको हो ।
स्टकले करिब २० करोड रकम खर्च गरेर वाइको नेपाललाई अनलाइन कारोबारको सफ्टवेयर निर्माणको जिम्मा दिएको छ । सफ्टवेयर निर्माण लगभग सकिएको र आगामी चैतदेखि परिक्षण सुरु गर्ने तयारी गरिएको बेला बोर्डका अध्यक्षलगायत उच्च अधिकारीले सेमी अनलाइन भन्दै सोर्स कोड नामक एक निजी कम्पनीलाई इन्ट्री गराएको छ ।
धितोपत्र कारोबार गरिरहेका दलला कम्पनीलाई अनलाइनमा पोख्त बनाउने नाममा सोर्स कोडलाई धितोपत्र बजारमा छिराइएको स्टकका कर्मचारीले बताएका छन् । स्टकका कर्मचारीले आफूहरुले सुरु गरेको कामलाई नै प्रभावित पार्ने गरी चलखेल भएको भन्दै अख्तियारमा उजुरी दिएका छन् ।
स्टकले सञ्चालन गर्न लागेको पूर्ण अनलाइन कारोबार प्रणालीलाई छल्ने र पर धकेल्ने गरी बोर्डको भूमिका देखिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । तर यस बारेमा बोर्डका कुनै पनि अधिकारी प्रतिक्रिया दिन तयार छैनन् । बोर्डका एक उच्च अधिकारीले शेयर ब्रोकर कम्पनीलाई प्रविधिमा पोख्त बनाउन मात्रै सेमी अनलाइनको अवधारणा अगाडि सारिएको बताए ।
स्टकका कर्मचारी अख्तियार गएको विषयमा आफूलाई जानकारी नभएको समेत बोर्डका ती अधिकारीको भनाइ छ । 
वाइको नेपालले बनाउने सफ्टवेयर शेयर दलाल कम्पनीलाई उपलब्ध गराउने छ । धितोपत्र बजारलाई व्यवस्थित र शतप्रतिशत अनलाइनमा लैजाने छ । तर काम भइरहेको बेला सोर्स कोडलाई जिम्मा दिएर सरकारी लगानीलाई बालुवामा पानी हालेसरह गर्न खोजिनु गलत भएको बताइन्छ ।
अख्तियारले उजुरी परेको स्वीकार गरेको छ । एउटा निवेदन प्राप्त भएको छ, हामी त्यसको खोजबिन गर्छौ, अख्तियारका एक अधिकारीले भने । सरकारी स्वामित्वको स्टकलाई बलियो बनाउनुपर्ने बेला बोर्डले भने स्टकलाई नै डुबाउने मनसायका साथ निजी कम्पनीलाई अर्को स्टक कम्पनी खोल्ने दिने तयारी समेत गरेको छ । अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंकको समेत लगानी रहेको स्टक सरकारी स्वामित्वको कम्पनीको हो । त्यसमा शेयर दलालहरुको समेत लगानी रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया