अघिल्ला आर्थिक वर्षहरुमा सरकारले प्रस्तुत गर्ने बजेटमा नेपाली फिल्म क्षेत्रलाई खासै सम्बोधन गरिएको थिएन । अघिल्लो आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाभित्रै अत्याधुनिक इन्डोर फिल्म स्टुडियो निर्माण गरिने विषय समावेश गरिए पनि त्यो अझैसम्म कार्यन्वयन हुन सकेको छैन । बिहीवार अर्थमन्त्री डा। युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७–०७८ को बजेटमा भने सातै प्रदेशमा फिल्म छायांकनका लागि स्थल बनाइने उल्लेख छ ।
त्यस्तै, मौलिक फिल्म निर्माणलाई प्रोत्साहन गरिने, कलाकार संघको भवनका लागि आवश्यक बजेट छुट्याइने, नेपाली चलचित्रको सुरक्षित भण्डारण गर्न चलचित्र विकास बोर्डलाई आवश्यक बजेटको व्यवस्था गरिने बजेटमा उल्लेख छ । अघिल्ला आर्थिक वर्षभन्दा यसपटक सरकारले नेपाली फिल्म क्षेत्रलाई केही हदसम्म सम्बोधन गरेकामा फिल्मकर्मी खुसी छन् ।
तर, हास्यकलाकार तथा निर्माता दीपकराज गिरी मौलिक फिल्मलाई प्रोत्साहित गर्ने सरकारको निर्णयबाट खुसी छैनन् । उनले शुक्रवार आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै ‘कस्तो फिल्मलाई मौलिक फिल्म भन्ने ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् । मौलिक फिल्मको नाममा कथित मौलिक फिल्मलाई प्रोत्साहित गरिएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले ‘लोकप्रिय मौलिक फिल्म’ लाई प्रोत्साहित गर्नुपर्ने तर्क अगाडि सारेका छन् ।
उनी लेख्छन्, ‘मौलिक चलचित्र निर्माणलाई बजेट छुट्याइएको छ, सुन्दा राम्रो छ । मौलिक चलचित्र छनोट गर्ने संयन्त्र चाहिँ कुन हो रु त्यहि परम्परागत शैली नै होला । कस्तो चलचित्र मौलिक हो रु पटक पटक दर्शकले पूरै अस्वीकार गरेको चलचित्र रु हलमा आधा घन्टामै दर्शक निदाउने चलचित्र रु केही पत्रकार र समिक्षकले थपडी मारेका चलचित्र रु विगतमा यस्ता चलचित्रहरूलाई बारम्बार नगद र अवार्डवाट पुरस्कृत गर्दै आइरहेको छौं हामी । त्यसैले होला हाम्रा ९८ प्रतिशत फिल्म पनि त्यस्तै बनिरहहेका छन् ।’
मनोरञ्जन क्षेत्र विदेशी फिल्मको भरमा टिकिरहेको उल्लेख गर्दै उनी थप्छन्, ‘हलिउड र बलिउडकै दवदबालाई स्वीकार गर्न बाध्य छौं हामी । किनकि, हामी कथित मौलिक चलचित्रलाई मात्रै प्रोत्साहित गर्दैछौं । चलचित्रको आन्तरिक बजारलाई कमजोर छोडेर धानका वालाका पछाडि मात्रै लाग्नु र दराजमा अवार्ड जम्मा पारेर मख्ख पर्नु भनेको घर भत्केर के भो आँगन छँदैछ नि भनेर मख्ख परे जस्तो मात्रै हो । अतः ‘लोकप्रिय मौलिक चलचित्र’ निर्माणलाई प्रोत्साहित गर्नुपर्यो । दर्शक नभएको रंगशाला, कविता सुन्ने श्रोता नभएको कवि सम्मेलन, मतदाता नभएको निर्वाचन र दर्शक नभएको चलचित्र भवन उस्तै हो ।’
फिल्म उद्योग बचाउन सके मात्र राम्रा फिल्मका लागि सम्भावनाको ढोका खुल्ने बताउँदै उनले कला र व्यापार दुवैको अस्तित्व स्वीकार गर्नुपर्ने उल्लेख गरेका छन् । एक पक्षलाई पक्षपोषण गर्ने परम्परागत शैली बन्द गर्न आग्रह गर्दै कलाकार गिरीले यस वर्षको बजेटमा पहिलाभन्दा धेरै ठाउँमा नेपाली फिल्मलाई सम्बोधन गरिएकोमा खुसी व्यक्त गरेका छन् । तर, विदेशी र नेपाली फिल्मको टिकट मुल्य समान नहोस् भन्ने आवाज यसपटक पनि सरकारले नसुनेकोमा उनले असन्तुष्टि पोखेका छन् ।
प्रतिक्रिया