लामो समयपछि नेपालमा छालाजुता कारखाना खुलेको छ । सरकारी लगानीको बाँसबारी छालाजुत्ता कारखाना बन्द भएको लामो सयमपछि निजीक्षेत्रबाट सुनसरीको दुहवीमा युनाइटेड रियल लेदर नामक कारखाना खुलेको हो ।
पहिला नेपालमै उत्पादन भएको शुद्ध छाला प्रशोधन गरेर विदेश निर्यात गर्दै आएको उद्योगले कोभिड १९ का कारण छाला निर्यात ठप्प भएपछि आफ्नै छाला जुत्ता कारखाना खोलेको हो ।
२० करोड रुपैयाँको लगानीमा तत्काल जुत्ताको कारखाना सञ्चालन सुरु गरिएको कम्पनीका मालिक परवेज अख्तरले बताए ।
अख्तरको परिवार नेपालमा राणाकालदेखि नै नेपालमा छाला संकलन गरेर प्रशोधन गरी बाहिर निकासी गर्दै आएको थियो । राणाकालदेखि छालाको व्यापार गरेका परवेजका बाबु समसुलले पूर्वी पहाडमा काँचो छाला धरानमा जम्मा गरी धरानबाटै भारततर्फ निर्यात गर्थे । पछि सन् १९८४ मा उनले दुहबीमा प्रशोधन उद्योग स्थापना गरेका थिए ।
उद्योगबाट प्रशोधित छाला चीन, इटली, फ्रान्स, टर्की, ल्याटिन अमेरिका लगायत मुलुकमा जान्छ । तर कोरोना भाइरसका कारण ति सबै मूलुकका क्रेताले अर्डर रद्ध गरेर काँचो, अर्ध प्रशोधित, प्रशोधित र तयारी छाला गरी ५० करोडभन्दा बढीको मालवस्तु मौज्दात रहेपछि अख्तर छाला जुत्ता कारखाना खोल्ने निर्णयमा पुगेका हुन् ।
यसअघि सो उद्योगबाट उत्पादन भएको छालाबाट नै नेपाल प्रहरी र नेपाली सेनाले लगाउने बुट बन्ने गरेको थियो ।
अहिले छालाको तयारी बस्तु उत्पादन गर्नका लागि खोलिएको युनाइटेड रियल लेदर उद्योगमा १० प्राविधिकसहित ५० जनाले रोजगारी पाएका छन्।
उत्पादित बस्तु विक्रीका लागि रियलले आफ्नो पहिलो सो रुम विराटनगरको मेनरोडमा रहेको सेन्ट्रल मलमा खोलेको छ ।
अहिले युनाइटेडले जेन्स, लेडिज र बालबालिकाका गरी २८ प्रकारका जुत्ता उत्पादन गरेको र आफूले उत्पादन गरेका जुत्ता फुटकर बजारमा १ हजार ५ सय रुपैयाँ देखि बढीमा ५ हजार रुपैयाँसम्ममा उपलब्ध हुने उनले बताए । दसैंतिहारको अवसरमा उद्योगले आफ्ना उत्पादनमा २० प्रतिशतसम्मको छुट दिएको छ। साथै जुत्तामा ६ महिनाको वारेन्टी छ।
आफ्नै छाला उद्योग भएकोले युनाइटेडबाट उत्पादित कुनै पनि जुत्तामा छालाबाहेक रेक्सिन र अरू कुनै नक्कली छालाको प्रयोग नभएको मजहरको दावी छ । ‘बजारमा पाइने धेरै जुत्ता छालाका जस्ता देखिन्छन् तर वास्तवमा छालाका होइनन्। हामी यो दोषबाट मुक्त छौं। शुद्धता हाम्रो पहिलो सर्त हो।’ उनले भने ।
उद्योगको उद्देश्य जुत्ताको निर्यात भएको उल्लेख गर्दै यसमा नेपालमै पाइने कच्चा पदार्थको प्रयोगको ९० प्रतिशत गरिएको दाबी गरे। तर सोल भने चीनबाट ल्याउनुपरेको उनको भनाई छ । उनका अनुसार
सोलको उत्पादन नेपालमा नै हुने भए पनि गुणस्तरीय हुन नसकेकाले चीनबाट मगाउनु परेको हो ।
व्यापार विस्तार हुँदै गएमा युनाइटेडले सोल उत्पादन कारखाना पनि स्थापना गर्ने उनले बताए। युनाइटेडले बाख्रा, भैंसी र राँगाका छालाबाट जुत्ता उत्पादन गरिरहेको छ। उद्योगले दसैं अगाडि नै काठमाडौंको सातदोबाटोस्थित सेल्सबेरी स्टोर, नयाँ सडकस्थित विशाल बजार र पोखराको सेल्बेज स्टोरमा पनि सो रुम खोलिसक्ने योजना बनाएको छ।
जुत्ताको बजार विस्तार र स्थापित भएपछि दोस्रो चरणमा बेल्ट, वालेट, लेडिज ब्याग र ल्यापटप ब्यागको उत्पादन गर्ने योजना रहको बताउँदै उनले अब आफूहरुले छालाबाट उत्पादित बस्तुको आयात प्रतिस्थापनलाई मद्दत गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया