तिहारमा भारतबाट फूल नल्याइने

३ बर्ष अगाडि

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ । 
 
तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हँुदा तीन लाख माला भारतबाट ल्याइएको थियो । 

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो । 

अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ । 

विगतका वर्षमा तिहारमा मात्रै रु १५ करोड फूलको कारोवार हुने गरेको थियो । श्रेष्ठले भन्नुभयो, “यस वर्ष भने बजारमा माग कमी भएकाले कारोवारमा केही कमी हुन्छ ।” अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा करिब १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । 

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ उपत्यकामा नै सबैभन्दा बढी ६० प्रतिशत मालाको माग छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया