चौधरी ग्रुपको युनाइटेड फाइनान्सका सीईओ प्रहरी हिरासतमा, बैंकिङ कसुरबाट भागेका मिश्रले सडकमा बाघ मारेको आरोप

३ बर्ष अगाडि

काठमाडौं – चौधरी ग्रुप अन्तर्गतका लगानीकर्ताले सञ्चालन गरेको युनाइटेड फाइनान्स लिमिटेडका सिइओ अजय मिश्र प्रहरी हिरासतमा परेका छन् । 

जथाभावी सवारी चलाउँदा बाराको पथलैया क्षेत्रमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जभित्र शुक्रबार पाटे बाघ मारेको अभियोगमा उनी पक्राउ परेका हुन् । 

बसन्त चौधरी अध्यक्ष रहेको उक्त फाइनान्सका सीईओ मिश्रले कार्यालयको कामको सिलसिलामा मनपरी ढंगले सवारी साधन चलाउँदा बाघ मारेको प्रहरीको आरोप छ । 

तर प्रहरीले औपचारीक रुपमा ति व्यक्तिबारे सार्वजनिक भने गरेको छैन । उनले तिब्र गतिमा गाडी  हुँईक्याएका कारण बाघको मृत्यु भएको पाइएको छ । प्रहरीले मिश्रलाई ५ दिनसम्म हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको छ ।

शुक्रबार जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा १६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे ठक्कर दिएको हो । कारको ठक्करबाट बाघको घटनास्थलमै मृत्यु भएको थियो ।

बैंकिङ कसुरबाट भागेका फरार अभियुक्त 

मिश्र बैंकिङ कसुरको मुद्धामा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनका फरार अभियुक्त समेत हुन् ।
तत्कालीन सिद्धार्थ डेभलमेन्ट बैङ्क जनता बैङ्कसँग गाभिनुअघि मिश्रले हुँदै नभएको जग्गा धितोमा राखी २ करोड कर्जा प्रवाह गरेका थिए । काठमाडौंको तीनकुनेमा रहेको बैङ्कको शाखाबाट कृष्ण चौधरीका नाममा उक्त कर्जा प्रवाह गरेका थिए । 

तीनकुने शाखा प्रमुख गीता शर्मा सुवेदी, नक्कली जग्गाको मूल्याङ्कन गर्ने सञ्जय दुधानी, कर्जा शाखाकी अनुजा डङ्गोल, लीलावती चौलागाईं र कर्जा समितिमा रहेका सीईओ अजयकुमार मिश्र, सुजन सुवेदी, रवि शाक्य र मुकुन्द त्रिपाठी मिलेर काठमाडौं इचङ्बुनारायण १ मा कित्ता नम्बर १६७, १६९, १८८८ र १८९को भीरमा रहेको अर्के व्यक्तिको जग्गालाई कृष्ण चौधरीको नाममा नक्कली कागजपत्र बनाएर उक्त कर्जा प्रवाह गरिएको थियो ।

विगतका कागजहरु पल्टाएर हेर्दा उनीहरुले बैङ्कलाई नोक्सानी पुर्याएको खुलेपछि जनता बैङ्कले महानगरीय प्रहरी परिसर काठमाडौंमा छानबिनका लागि निवेदन दिएको थियो । त्यसपछि प्रहरीले वडा कार्यालयदेखि मालपोतहुँदै नापी कार्यालयसम्म पुगेर अनुसन्धान गर्दा उनीहरुले सबै कागजपत्रहरु नक्कली बनाएर ऋण निकासा गरेको खुलेपछि मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको वाणिज्य इजलासमा बैङ्किङ कसुरमा मुद्दा दायर गरेको थियो । 

सिद्धार्थ भडेभलपमेण्टका सीईओ मिश्र जनता बेंकसँग् गाभिएपछि डेपुटी सीईओ बनेपछि अवकाश लिएका थिए । सिद्धार्थमा जानुअघि उनी तत्कालीन प्रुडेन्सियल फाइनान्समा सीईओ थिए । प्रुडेन्सियल पनि एनएमबी बैङ्कमा गाभिएको थियो ।

दुई अदालतबाट फरार मिश्रलाई युनाइटेड फाइनान्स लिमिटेडको सञ्चालक समितिको बैठकले २०७६ वैशाख ६ गतेबाट लागू हुनेगरी नियुक्त गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया