झनै घट्यो बैङ्कको ब्याजदर, कुन बैङ्कमा कति ब्याज ?

३ बर्ष अगाडि

वित्तीय संस्थामा तरलताको अवस्था सुधार हुँदै गएको अवस्थामा वाणिज्य बैङ्कहरुले भने निक्षेपमा दिने ब्याजदर झनै घटाएका छन् । 

यसअघि नै ज्यादै कम भएको मानिएको बचत तथा मुद्दती निक्षेपको ब्याजदर माघ महिनादेखि लागु हुनेगरी झनै घटाइएको हो । राष्ट्र बैङ्कले प्रत्येक महिनाका लागि लागु हुने ब्याजदर महिना सुरु हुनुभन्दा अघि नै प्रकाशित गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै माघ महिनाका लागि सबैजसो बैङ्कहरुले यस्तो ब्याजदर प्रकाशन गरेका हुन् ।

कुन बैङ्कको ब्याजदर कति ?

बैङ्कहरुले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार बचत निक्षेपमा सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैङ्कको छ । यो बैङ्कले बचत खातामा १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म मात्रै ब्याज दिने जनाएको छ । त्यस्तै नबिल बैङ्क र एनआईशी एशिया बैङ्कले बचतमा खातामा दिने ब्याजदर १.५ प्रतिशत देखि ३.५ प्रतिशतसम्म रहेको जनाइएको छ ।

सनराइज बैङ्क र बैङ्क अफ काठमाण्डूले २ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म तथा नेपाल इन्भेष्टमेन्ट बैङ्क, हिमालयन बैङ्क, ग्लोबल आईएमई बैङ्क, एभरेष्ट बैङ्क, कुमारी बैङ्क, लक्ष्मी बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, प्रभु बैङ्क, सिद्धार्थ बैङ्क र मेगा बैङ्कले बचत खातामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेका छन् ।

उता, नेपाल बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म, सिटिजन्स बैङ्कले २.५ प्रतिशत देखि ४.५ प्रतिशतसम्म, नेपाल बंगलादेश बैङ्कले २.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर तोक्दा प्राइम कमर्शियल बैङ्क, सिभिल बैङ्क र एनसीसी बैङ्कले ३ देखि ५ प्रतिशत ब्याजदर तोकेका छन् ।

सेञ्चुरी कमर्शियल बैङ्कले यसअघि तोकेको ३.५ देखि ४.५ प्रतिशतको ब्याजदरमा कुनै फेरबदल गरेको छैन । कृषि विकास बैङ्कले भने न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बचत निक्षेपमा सर्वाधिक ब्याजदर भने एनएमबि बैङ्कको छ । एनएमबि बैङ्कले बचत निक्षेपमा ३.१ प्रतिशतदेखि ५.१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

उता, मुद्दती निक्षेपतर्फ सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैङ्कको छ । सो बैङ्कले १ वर्षे मुद्दती निक्षेपमा ५ प्रतिशत मात्रै ब्याज दिने उल्लेख गरेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ६ प्रतिशत र एनसीसी बैङ्कको ब्याजदर ६.२५ प्रतिशत छ । त्यस्तै, नबिल बैङ्क, एभरेष्ट बैङ्क, सानिमा बैङ्क, एनआईशी एशिया बैङ्क, ग्लोबल आईएमई बैङ्क र प्रभु बैङ्कले ६.५ प्रतिशत तथा नेपाल बंगलादेश बैङ्क र कुमारी बैङ्कले ६.७५ प्रतिशत ब्याज दिने जनाएका छन् ।

१० बैङ्कहरुले भने एकवर्षे मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन् । नेपाल बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क, हिमालयन बैङ्क, लक्ष्मी बैङ्क, सनराइज बैङ्क, माछापुच्छ्रे बैङ्क, बैङ्क अफ काठमाण्डू र राष्ट्रिय वाणिज्य बैङ्क यसअन्तर्गत परेका छन् ।

त्यस्तै, कृषि विकास बैङ्क र एनएमबि बैङ्कले ७.२५ प्रतिशत ब्याज दिँदा सिटिजन्स बैङ्क, सेञ्चुरी बैङ्क र प्राइम बैङ्कको ब्याजदर ७.५ प्रतिशत रहेको छ । सबैभन्दा बढी ब्याजदर भने सिभिल बैङ्कको ८ प्रतिशत छ । उल्ल्ेखित ब्याजदरमा शाखा प्रबन्धकले ०.५० प्रतिशतसम्म थप गरेर दिनसक्ने भएकोले वाणिज्य बैङ्कको मुद्दती निक्षेपमा अधिकतम ८.५ प्रतिशतसम्म ब्याज पाउन सकिन्छ ।

अहिले बैङ्कहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार बचत खातामा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । त्यस्तै, १ वर्षे मुद्दती व्यक्तिगत निक्षेप खाताका लागि ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया