चितवन - पहाडी क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष ९३.५३ प्रतिशत मेट्रिक टन सुन्तला कम उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लामा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यसवर्ष जिल्लामा एक हजार ८१९ दशमलब ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
गत वर्ष सोही क्षेत्रफलमा एक हजार ९१० दशमलब ४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लामा यस वर्ष ईच्छाकामना गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो भएको भए पनि भरतपुर महानगरपालिकामा भने अपेक्षाकृत रुपमा उत्पादन नभएको केन्द्रकी सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार भरतपुर महानगरपालिका–२९ कविलास क्षेत्रमा लगाइएको सुन्तलालाई असिनाले असर गरेकाले उत्पादनमा कमी आएको हो । उनले भने, “यस वर्ष कविलास क्षेत्रमा सुन्तला उत्पादन हुन सकेन । असिना पानी र रोगको सङ्क्रमणले उत्पादन घटायो ।”
असिना पानीसँगै सुन्तलाको बोटमा जरो कुहिने, टुप्पा मर्नेलगायतका रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । कार्यालयका प्रमुख राजन ढकालले सुन्तलामा लाग्ने रोगका विषयमा कृषकलाई जानकारी गराउँदा पनि रोकथामका विधिको प्रयोग कम भएका कारण उत्पादनमा कमी आएको बताए । सुन्तलाको उत्पादन बढाउनका लागि कृषकले मलखात, गोडमेललगायतमा ध्यान दिनुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।
सुन्तलाको गोलमेल, झार र कीराको व्यवस्थापन जस्ता विषयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले भने, “सुन्तला फल्ने बेलामा मात्रै हेरचाह गरेर पुग्दैन, बाह्रैमहिना सुन्तला खेतीमा ध्यान दिनुपर्छ ।” उनका अनुसार हिउँदको समयमा सिंचाइलगायतका विषयमा पनि ध्यान दिन सके उत्पादन बढाउन सकिन्छ ।
जिल्लालाई तराईको जिल्ला भनेर चिनिने भए पनि यहाँको पहाडी क्षेत्रमा सुन्तलाको राम्रो उत्पादन हुने गर्दछ । भरतपुर महानगरपालिका–२९ र इच्छाकामना गाउँपालिकामा सुन्तलाखेती गरिँदै आएको छ ।
कालिका नगरपालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्र पनि सुन्तलाका लागि उपयुक्त मानिन्छ । बिहानदेखि बेलुकासम्म घामको किरण पुग्ने पूर्व फर्किएको ठाउँमा फलेको सुन्तला स्वादिष्ट मानिन्छ ।
बजार क्षेत्रमा जिल्लाकै सुन्तलालाई पनि गोरखाको मनकामनाको सुन्तला भन्दै बिक्री गर्ने गरेको पाइन्छ ।
प्रतिक्रिया