काठमाडौं - कामको खोजीमा बर्सेनी हजारौँ नेपाली विदेश पलायन हुन्छन । त्यसमध्ये जापान, युरोप तथा अमेरिका लगायतका विकसित मुलुकमा जानेहरू भिसा परिवर्तन गरेर लामो समय उतै बस्ने वा स्थायी बसोबास नै खोज्ने दाउमा हुन्छन् ।
तर जापान पुगेका काभ्रेका डा. राजकुमार बन्जारा भने नेपाल फर्केर कफी कृषक र अभियन्ता बनेका छन् । जापानको ४ वर्ष बसाइमा यही कृषि, कफी, चिया सम्बन्धी अध्ययन र यस क्षेत्रमा नै काम गरेर उनी नेपाल फर्किहाले । यहाँ आएपछि आफ्नै जन्मभूमि काभ्रेमा ‘काइदाको कफी’ खेती गर्न सुरु गरेको उनले १८ वर्षमा २ सय रोपनीमा कफीले हराभरा बनाएका छन् ।
‘मेरो ४ वर्षको विदेश बसाइमा मैले बहि कृषि, कफी, चिया क्षेत्रमा काम गरेको थिएँ । त्यस बेलादेखि नै नेपाल फर्केर म यसै क्षेत्रमा लगानी गर्छु भन्ने मेरो मनसाय बन्यो ’, उनले भने, ‘त्यहि कारण नेपाल फर्के अनि यही क्षेत्रमा यात्रा अघि बढाएँ ।’
नेपालीहरूको ‘घर/घरमा कफी’ भन्ने नाराका साथ सुरु भएको ‘काइदाको कफी’ लाई उनी एउटा वृहत सामाजिक अभियानको रुपमा पनि लिने गर्छन् । ‘नेपालमा उत्पादित उच्च गुणस्तरीय अर्गानिक कफीलाई घरघरमा पिउने संस्कृतिको विकास गर्दै खेतीयोग्य जमिनमा कफी खेती गर्न सहयोग पु¥याउने र नेपालको प्रमुख कृषि कफी कृषि हो भन्ने कुरा स्थापित गर्ने योजना लिएको छु । त्यही कारण म यसलाई अभियानको रुपमा लिएको छु ।’
आफैले कफी खेती र कफी उद्योग सञ्चालन गरेर राम्रै अनुभव बटुल्दै आएका उनले जीवनलाई नयाँ मोड मात्रै दिएनन्, कफी विद्को समेत परिचय बनाए । उनले कफी खेती सँगै कफी उद्योग ग्रिनल्याण्ड अर्ग्यानिक फार्म साथै काइदाको क्याफे पनि सञ्चालन गरिरहेको छन् । कफी खेती काभ्रेमा भए पनि उद्योग र क्याफे भने काठमाडौंको कोटेश्वरमा छ ।
कफी खेतीबाट वर्षमा करिब १० करोड आम्दानी हुने उनी बताउँछन् । उत्पादित कफीमध्ये विदेश निर्यात गर्ने गर्छन् । जापान, कोरिया, अष्ट्रेलिया, अमेरिका साथै विभिन्न देशहरूमा उनका ग्राहक छन् ।
त्यसमा पनि सबभन्दा धेरै अमेरिका निर्यात हुने उनी बताउँछन् । उनको फार्ममा ९ जना कामदार छन् । खेतीमा लागि पनि धेरै मानिस ज्यालामा काम गर्छन् । यसरी दर्जन बढीलाई रोजगारी पनि दिएको उनको भनाई छ ।
कफीको आर्थिक महत्व
अन्न तथा अरु बालीहरुको तुलनामा कफीबाट कृषकलाई बढी लाभ हुने भएकोले कफीको अर्थिक पाटो धेरै राम्रो भएको बन्जरा बताउँछन् । ‘मकै कोदो भन्दा २÷३ गुणा बढी आर्थिक फाइदा कफीबाट मात्रै हुन्छ भने कफीलाई दिइने छाहारी रुख र अन्तर बालीबाट थप आम्दानी लिन सकिन्छ’, उनी भन्छन्, ‘त्यसैगरी कफीको मह उच्च गुणस्तरको हुने भएकाले मौरीका घरहरु राखेर आर्थिक वृद्धि गर्न सकिन्छ ।’
नेपालको जलवायु एवं माटोमा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उच्च गुणस्तरको कफी उत्पादन हुन सक्ने कुरा प्रमाणित भैसकेको भएपनि नेपालमा प्रतिवर्ष करोडौं रुपैयाँको कफी आयात हुन्छ ।
यो दुर्भाग्यपूर्ण अबस्थाको अन्त्य गरी नेपाली कृषकहरुले नेपालमै उच्चगुणस्तरको कफी उत्पादन गरी आयात प्रतिस्थापन गर्ने र विदेशमा नेपाली कफी निर्यात गर्ने गरी वैदेशिक मुद्रा आर्जन गर्नसक्ने ठूलो अवसर मिल्ने उनि बताउँछन् ।
कफीबाट रोजगारी सिर्जना
उनका अनुसार कफी खेतीबाट किसनलाई आर्थिक लाभ मात्र होइन, आफ्नै ठाउँमा कामदारलाई प्रसस्त रोजगारीको अबसर पनि सिर्जना भएको छ । यसबाट कामको खोजीमा विदेश पलायन हुन लाखौँ युवालाई नेपालमै रोक्न सकिने उनको भनाई छ ।
‘कफीखेती पहाडी भूभागमा हुने भएकाले विपन्न वर्गका लागि यसले ग्रामीण रोजगारी सिर्जना गर्छ’, उनले भने, ‘अर्कोतर्फ शहरी क्षेत्रमा प्रशोधन लगायत प्याकिङ गरि स्थानीय बजार तथा क्याफेमा धेरैले रोजगारी पाउन सक्छन् ।’
सामाजिक रुपान्तरण र स्वस्थ्यमा पनि फाइदा
समाज विकासको क्रम तीव्ररुपमा अगाडी बढाउने भएको कारण कफीले समाज रुपान्तरणमा पनि सहयोग पुग्ने उनी बताउँछन् । यो सँगै कफी स्वस्थ्यका लागि पनि फाइदाजनक रहेको उनले बताए ।
‘प्रत्येक दिन कम्तीमा एक कप कफी पिउनाले शरिरमा दिनभर स्फुर्ति ल्याउनुको साथै यसमा पाइने एन्टी अक्सिडेन्टका कारणले शरीर तथा मानसिक थकान बाट मुक्त राख्दछ’, उनले थपे, ‘मुटु मस्तिष्क एवं स्नायूप्रणालीलाई क्रियाशिल तुल्याउँदै मानव स्वास्थलाइ स्वस्थ राख्न मद्द गर्छ यस कारण कफी स्वस्थ्यका लागि फाइदाजनक छ ।’
नेपालीहरुले घरघरमा कफी पिउने संस्कृतिको विकास गर्दै सम्भव भएका हरेक ठाउँहरुमा कफी खेती गर्ने हो भने नेपाली कृषि क्षेत्रले छोटो समयमै र थोरै लगानीमै ठूलो उपलब्धि हासिल गर्न सक्ने उनको दावी छ ।
कफी अभियान
बन्जराले कफी खेती सँगै कफी अभियानलाई पनि अघि बढाएका छन् । नेपालका खासखास ठाउँहरुमा मात्रै कफीखेती गर्न मिल्ने भए पनि हिमाल–पहाड–तराई गाउँसहर जतासुकै कफी खान मिल्छ । त्यसैले पहिलो चरणमा नेपालीहरुलाई विना मेशिन आफ्नै चुलोमा कफी बनाउने सरल विधि सिकाउँने उनी बताउँछन् ।
आफ्नै छरछिमेकमा भएको कफी घरमै भुट्ने, पिँध्ने र एकदमै सरल तरिकाले कफी पकाउने तरिका जान्ने बित्तिकै नेपालमा कफी खपत बढ्ने उनी बताउँछन् । कफीको खपत बढाउँदै गर्दा खेतीयोग्य प्रदेशहरुमा कफी खेतीको लागि चाहिने जानकारी र सक्दो सहयोग यो अभियानले जुटाउने उनको मनासय रहेको छ ।
यसका अलाबा विभिन्न ठाउँहरुमा काइदाको क्याफे सञ्चालन गरी कफीका साथै स्थानीय लोपोन्मुख र चाडपर्व अनुसारको परिकार पस्कँदै नेपालमा कफी पिउने संस्कृति र कफी खेती गर्ने संस्कारको विकास गर्दै तीव्ररुपमा नेपालमा एउटा पूर्ण कफी संस्कारको विकास गर्दै कफी उद्योगलाई भरपर्दो र दिगो बनाइ राख्ने लक्ष्य उनको रहेको छ ।
प्रतिक्रिया