काठमाडौं– नेपाली मुद्राको छपाइ कसरी गरिन्छ ?
नेपाली मुद्राको छपाइ अन्तराष्ट्रिय बोलपत्रका माध्यमबाट सुरक्षण मुद्रण कम्पनी छनौट गरी सोही कम्पनीमार्फ् गरिन्छ ।
नोट कोष भनेको के हो ?
“नोटकोष” भन्नाले नेपाल राष्ट्र बैंकले नेपालभर नेपाली रुपैयाँको सहज आपुर्तिको लागि खडा गरेको कोषलाई सम्झनु पर्छ । हाल नेपाल अधिराज्यभर नेपाल राष्ट्र बैंकको ८, राष्ट्रिय वाणिज्य बैंकको ४५, र नेपाल बैंक लिमिटेडको २६ गरी जम्मा ७९ नोट कोषहरू रहेका छन् । यस्तो नोटकोष सामान्यतयाः जिल्ला सदरमुकाममा अवस्थित सरकारी कारोबार गर्ने बैंकमा रहेको हुन्छ ।
नोटमा मनोमानी लेखेमा वा कोरेमा वा काटकुट गरी स्वरुप बिगारेमा के हुन्छ ?
नोटमा मनोमानी लेखेमा वा कोरेमा वा काटकुट गरी स्वरुप बिगारेमा सो नोट जफत हुनुको साथै तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना समेत हुन सक्दछ ।
बैंकमा जति पनि नयाँ (फ्रेस) नोट साट्न पाइन्छ ?
बैंकले तोके अनुसार मात्र नयाँ (फ्रेस) नोट साट्न सकिन्छ । बैंकले सोही दर वा अन्य दरको सुकिलो वा (फ्रेस) जुनसुकै प्रकारको नोट उपलब्ध गराएर सटही सुविधा प्रदान गर्न सक्दछ ।
आगलागी वा दैवीप्रकोपमा परेका नोटको सट्टाभर्ना कसरी लिन सकिन्छ ?
आगलागी वा दैवी प्रकोपमा परेका नोटको सट्टाभर्ना लिनको लागि सम्बन्धित प्रहरी कार्यालय वा सम्बन्धित स्थानीय निकाय वा प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारीबाट प्रमाणित निस्सा र मुचुल्कासहित निवेदन पेश गर्नुपर्दछ ।
बैकले सट्टाभर्ना गर्न नसक्ने नोटहरू सम्बन्धित व्यक्तिले फिर्ता पाउँछन् ?
पाउँदैनन् । यस्ता नोटहरू सट्टाभर्ना दिन इन्कार गरी बैंकले जफत गर्दछ र सोको कारणसहितको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउँदछ ।
नोट सट्टाभर्ना गर्न इन्कार गरेको कारणमा चित्त नबुझेमा के गर्न सकिन्छ ?
नोट सट्टाभर्ना हुन नसकेको कारण सहितको सूचना पाएको पैंतीस दिनभित्र पुनरावेदन सुन्ने अधिकारी समक्ष पुनरावेदन दिन सकिन्छ ।
कस्ता नोटहरू दावीको लागि पेश भएमा बैंकले सट्टाभर्ना गर्दैन ?
नम्बर नमिलेको नोट, सच्याएको नोट, मनोमानी लेखेको नोट, दोहोरो सट्टाभर्ना जान सक्ने सम्भावना भएको, नोटको दर र पूरा नम्बर यकिन गर्न नसकिने तथा पचास प्रतिशतभन्दा कम भाग भएको नोटको सट्टाभर्ना बैंकले गर्दैन ।
झुत्रो नोट साट्न के गर्नुपर्दछ ?
झुत्रो नोट साट्न झुत्रो नोट बैंकमा पेश गर्नुपर्दछ । यदि झुत्रो नोट धेरै मक्किएको, नोटहरू गन्न असजिलो हुने अवस्थामा रहेको वा त्यस्ता नोट सग्लो नभएमा साट्नको लागि झुत्रो नोटको पृष्ठभागमा सोही दरको सिंगो नोट बराबरको कागजको टुक्रा टाँसी झुत्रो नोट साट्ने बैंकमा पेश गर्नु पर्दछ ।
झुत्रो नोट कहाँबाट साट्न सकिन्छ ?
नेपाल राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंकका प्रदेशस्थित सम्पुर्ण कार्यालयहरू तथा नोटकोष सञ्चालन गर्ने सम्पुर्ण वाणिज्य बैंकहरूबाट झुत्रो नोट साट्न सकिन्छ ।
झुत्रो नोट भन्नाले के बुझिन्छ ?
झुत्रो नोट भन्नाले च्यात्तिएको, मक्किएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रंगिएको आदि नोटलाई जनाउँदछ ।
मुद्रा व्यवस्थापन विभागले के काम गर्दछ ?
मुद्रा व्यवस्थापन विभागले आवश्यकता अनुसार नेपाली रुपैयाँ तथा सिक्काको डिजाइन तयार गर्ने, छपाउने, सिक्का टकमरी गर्ने÷गराउने तथा देशब्यापी रुपमा मुद्राको सहज आपूर्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्नुका साथै मुद्रा सटही र चलनचल्ती अयोग्य नोटहरूलाई नष्ट गर्ने कार्य गर्दछ ।
नेपालमा हाल कति दरका नोटहरू चलनचल्तीमा रहेका छन् ?
नेपालमा हाल रु.१, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५०० र १००० गरी जम्मा ११ दरका नोटहरू चलनचल्तीमा रहेका छन् ।
तर, हाल रु.१, २, २५ र २५० को नोटहरू निष्कासन गरिएका छैनन् ।
प्रतिक्रिया