काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिड–१९ का ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।
महासंघले गत वैशाख २४ गतेदेखि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो । मुलुकमा कोभिड–१९ को दोस्रो लहरको महामारी अकस्मात बढेसँगै यस संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षा गर्ने राज्यको कार्यमा सहयोग पु¥याउने उद्देश्यले महासंघले सो केन्द्रको स्थापना गरेको थियो ।
महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा गत वैशाख २३ गते बसेको महासंघको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वरिष्ठ उपाध्यक्ष ढकालको संयोजकत्वमा जैन भवन, क्षेत्रपाटी र पुलचोकमा आइसोलेशन सेन्टरको स्थापना गर्ने र स्वास्थ्य सहायता केन्द्रमार्फत सेवा दिने निर्णय गरेको थियो ।
सहायता केन्द्र अन्तर्गत कोभिड संक्रमण भई घरमा बस्न ठाउँ अभाव भएका परिवार तथा निम्न आय भएका मजदुरलगायतका बिरामी परिवारका सदस्यलाई खाना र औषधिको उचित व्यवस्थासहित उपत्यकाका तीन स्थानमा केन्द्र सञ्चालन गरेर सेवा दिन थालिएको हो । यी सेवामा निःशुल्क औषधि उपचार र खानाको पनि प्रबन्ध गरिएको छ । साथै चिकित्सक, नर्स र स्वास्थ्यकर्मी ती आइसोलेशन सेन्टर र केन्द्रहरुमा चौबीसै घण्टा उपलब्ध रहेका छन् ।
साथै आइसोलेसनमा बसेकाहरु एवं प्रत्यक्ष सम्पर्कमा आएका संक्रमितलाई आइसीयू, भेन्टिलेटर, अक्सिजन सेवाका साथै अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अस्पतालमा सम्पर्क गरी आवश्यकता अनुसार अस्पतलामा सुविधा उपलब्ध गराइएको छ । यसरी उपलब्ध गराइएको सेवाबाट अहिलेसम्म ३०० भन्दा बढी नागरिक प्रत्यक्षरूपमा लाभान्वित भएका महासंघले जनाएको छ ।
त्यस्तै यस सहायता केन्द्रका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ढकालले आफूले निजी रूपमा क्षेत्रपाटीस्थित आइसोलेशन केन्द्रमा ३० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएका थिए । त्यसबाट ५० जनाभन्दा बढी संक्रमित लाभान्वित भएका पनि महासंघले जनाएको छ ।
संयोजक ढकालले देशमा कोरोनाको दोस्रो लहरको संकट शुरु हुन थालेपछि अध्यक्ष शेखर गोल्छाको अगुवाइमा हामीले यो सहायता केन्द्रको स्थापना गरी सहायता जारी राखेको बताए । उनले मुलुकको निजी क्षेत्रले देश संकटमा परेका बेला अग्रसरता देखाउन जरुरी रहेको पनि उनले बताए । कोभिड महामारीमा हालका लागि अत्यावश्यक देखिएका विभिन्न ६ वटा सहयोगका क्षेत्रहरुको पहिचान गरी महासंघका सदस्यहरुमध्येबाट प्रायः ती क्षेत्रमा अनुभव रहेका फोकल पर्सनहरु तोकेर सहयोगका कार्यक्रम अघि बढाइएको पनि संयोजक ढकालले जानकारी दिए ।
प्रतिक्रिया