जोखिमयुक्त भन्दै सार्वजनिक गरिएको ५१ सूचीकृत कम्पनीको सूचीले पूँजी बजारमा नकारात्मक सन्देश प्रवाह

शुक्रबार, ०४ असार २०७८, १० : २२

काठमाडौं - नेपाल धितोपत्र बोर्डले लगानीका लागि जोखिमयुक्त भन्दै ५१ सूचीकृत कम्पनीको सूची सार्वजनिक गरेपछि लगानीकर्ताको मनोबल घट्न गइ समग्र पूँजी बजारमा नकारात्मक सन्देश प्रवाह भएको नेपाल उद्योग परिसंघले जनाएको छ ।

बिहीबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले अर्थमन्त्री समक्ष संवेदनशील विषयमा नियमनकारी निकायले परिपक्व भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् ।

आगामी आर्थिक वर्षमा लक्ष्यअनुसार ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आर्थिक क्रियाकलाप चलायमान बनाउन परिसंघले सरकार समक्ष आग्रह गरेको छ । अध्यक्ष मोरले बजेटमा उल्लेखित धेरै विषय तत्काल कार्यान्वयनका लागि मौद्रिक नीतिमार्फत व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सरकारले बजेट कार्यान्वयनलाई आफ्नो परीक्षको रूपमा लिएको उल्लेख गर्दै निजी क्षेत्रलाई साथमा लिएर कार्यान्वयन अघि बढाउने बताए । असारभर तयारीका काम सक्ने र साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको उनको भनाई थियो ।

मन्त्री पौडेलले अमेरिका, चीन, भारत लगायतका देशबाट कोरोनाको भ्याक्सिन खरिद गरी सबै नागरिकलाई उपलब्ध गराउन सरकार लागि परेको बताए ।

शुक्रबार, ०४ असार २०७८, १० : २२

प्रतिक्रिया