युनियन लाइफको आइपीओमा १८ लाखभन्दा बढी आवेदन, कति कित्ता खरिदमाग ?

आइतबार, २७ असार २०७८, १७ : ४३

काठमाडौं, युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख १४ हजार आवेदकले आवेदन गरेका छन्। 

बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार आइतबार साँझ ५ बजेसम्ममा १८ लाख १४ हजार २६५ जना आवेदकबाट २ करोड ९१ लाख ५३ हजार ६५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। कम्पनीको आइपीओमा करिब ५ गुणा बढी आवेदन परिसकेको छ। 

कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ।

कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा माथि १० अंकको गुणाङ्क संख्यामा अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
 

आइतबार, २७ असार २०७८, १७ : ४३

प्रतिक्रिया