मंगलबार नेप्सेमा ९ अंकको करेक्सन, कारोबार रकम ७ अर्ब ८९ करोड

मंगलबार, ०५ साउन २०७८, १५ : ४४

काठमाडौं, साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) ९ अंकको करेक्सन देखिएको छ।

मंगलबार नेप्से सूचक ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि २.८३ अंकले घटेको छ।

सोमबार साढे ११ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलबार ८ अर्बभन्दा कमको शेयर कारोबार भएको छ। यस दिन २१९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँमा खरिद बिक्री भएको छ।

मंगलबार अधिकाँश म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढेको छ। लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको कमाइबाट लाभांश घोषणा गरेसँगै यस दिन लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डको इकाइमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावरको ९.३९ प्रतिशत, माउन्टेन हाइड्रोको ९.२८ प्रतिशत र ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाइमूल्य ८.९२ प्रतिशतले बढेको छ।

मंगलबार अरुण कावेली हाइड्रोको सबैभन्दा धेरै ३८ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको २६ करोड ९८ लाख, नेपाल इन्स्योरेन्सको २४ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहको सूचकमध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको सूचक सबैभन्दा धेरै ६.२९ प्रतिशतले बढेको छ।

मंगलबार, ०५ साउन २०७८, १५ : ४४

प्रतिक्रिया